बुलबुले समाचारदाता
सुर्खेत, फागुन २६ गते । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रममा जोड दिएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खेतबारीमा सिँचाइ सुविधा पुर्याउन उक्त कार्यक्रम राखिएको हो ।
साना सिँचाइ निर्माण तथा मर्मतका कार्यक्रम कार्यान्वयन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सानातिना कुला तथा आकासे पानी सङ्कलन पोखरी निर्माण गर्ने योजना रहेको मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम कार्यान्वयन गर्न ३२ करोड रुपियाँ विनियोजन गरिएको छ । आवश्यकताका आधारमा प्रदेशका १० वटै जिल्लाबाट कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
सिँचाइ सुविधा नहुँदा धेरै जग्गा बाँझै छ । ठुला आयोजना सञ्चालन गर्दा धेरै समय लाग्ने भएकाले ससाना आयोजना कार्यान्वयन गरेर सिँचाइ पुर्याउने उद्देश्यले साना सिँचाइ निर्माणको योजना बनाइएको हो । सरकारले छिटो सेवासुविधा पुर्याउने उद्देश्यले साना सिँचाइको योजना ल्याइएको हो । चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि बढाइएको छ ।
कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भए पनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्याङ्कले कुल सिञ्चित क्षेत्रफल २८.८ प्रतिशत मात्रै देखिएको छ । प्रदेशभर ५६.८ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कृषि गणना अनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँ खेती बढी हुन्छ । २९ हजार २४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ ।
सुर्खेत जिल्लामा नौ हजार ४३२ हेक्टर धान बाली, आठ हजार ७५५ हेक्टरमा मकै बाली र ११ हजार ३४१ हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाउने गरिएको छ । कर्णालीमा १.८० प्रतिशत कृषकले वर्षमा सरदर दुई बाली लगाउने गरेका छन् भने सुर्खेत जिल्लामा १.९७ प्रतिशतले वर्षमा दुई बाली लगाउने गरेका छन् ।