हुम्ला समाचारदाता
हुम्ला, फागुन २६ गते । हिमाली जिल्ला हुम्लामा केही गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका भए पनि पाठ्यपुस्तक छपाउन भने सकेका छैनन् । गाउँपालिकाले पाठ्यपुस्तक छाप्ने व्यवस्था नगरेका कारण निर्माण भएको पाठ्यक्रमकै आधारमा पढाइरहेका छन् ।
सिमकोट गाउँपालिका–७ को कैलाश माध्यमिक विद्यालय डाँडाफयाका प्रधानाध्यापक मेजबहादुर बुढाले गाउँपालिकाले स्थानीय पाठ्यक्रम ल्याउनु सकारात्मक पक्ष भए पनि हालसम्म पाठ्यपुस्तकको व्यवस्था गर्न नसकेका कारण विद्यालयमा पाठ्यक्रमका आधारमै पढाइ भइरहेको बताउनुभयो । सिमकोट गाउँपालिकाले ‘हाम्रो सिमकोट’ नामक स्थानीय पाठ्यक्रम दुई वर्षअगाडि तयार पारेको थियो । पाठ्यक्रम तयार भएको दुई वर्ष पुगे पनि हालसम्म पाठ्यपुस्तकको व्यवस्था हुन सकेको छैन । कक्षा शिक्षकले पाठ्यक्रम हेर्ने र त्यसै अनुसार कक्षामा अध्यापन गराउने कार्य भइरहेको उहाँको भनाइ छ ।
यसले गर्दा कक्षामा शिक्षकबाट पढाएको कुरा सुनेकै आधारमा विद्यार्थीले जानकारी लिनुपर्ने र परीक्षामा लेख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले शिक्षकलाई पाठ्यक्रम आवश्यक रहेको भए पनि विद्यार्थीका लागि भने पाठ्यपुस्तक नै आवश्यक पर्ने भएका कारण पाठ्यपुस्तकको छपाइको व्यवस्था गर्न आवश्यक रहेको जनाउनुभयो । गत वर्षबाट विद्यालयमा स्थानीय पाठ्यक्रमको पठनपाठन सुचारु गरिएको तर गाउँपालिकाले पाठ्यपुस्तक छपाउने व्यवस्था गर्न नसकेपछि पाठ्यक्रमका आधारमा पढाउनुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिकाको युवा, खेलकुद तथा शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बताउनुभयो । शाखाले तयार पारेर कार्यान्वयनमा ल्याएको स्थानीय पाठ्यक्रम गाउँपालिकाका २१ वटा विद्यालयमा हाल कक्षा ८ सम्म पठनपाठन हुने गरेको छ ।
उहाँले स्थानीय पाठ्यपुस्तकको छपाइ कार्य पहिलो वर्षबाटै गर्न गाउँपालिकामा माग राखिएको भए पनि त्यो हुन नसकेको बताउनुभयो । यो वर्ष पनि केही दिनअगाडि सोही माग राख्दा आगामी आर्थिक वर्षबाट व्यवस्था गरिने आश्वासन पाइएको उहाँले जनाउनुभयो । स्थानीय पाठ्यक्रमको पठनपाठन लागु गरिएका सबै कक्षाका लागि पाठ्यपुस्तक छपाइ गर्न २० लाख रुपियाँ आवश्यक पर्छ । सिमकोट गाउँपालिकामा कक्षा १ देखि ३ सम्म निरन्तर शिक्षा अन्तर्गत एक सय पूर्णाङ्कको परीक्षा लिने गरिएको छ भने कक्षा ४ देखि ८ सम्म ५० पूर्णाङ्क आन्तरिक र ५० पूर्णाङ्क बाह्य परीक्षा लिने गरिएको शाखाले जनाएको छ । जिल्लाका नाम्खा र ताँजाकोट गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम तयार गरेका छन् । नाम्खाले कार्यान्वयनमा ल्याउन सकेको छैन भने ताँजाकोटले दुई वर्षअघि नै कार्यान्वयन गरिसकेको छ ।
स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक छपाइ गर्न नसकिएको ताँजाकोट गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले बताउनुभयो । सन्दर्भ सामग्री जम्मा गर्ने कार्य भइरहेकाले अझै पाठ्यपुस्तकको व्यवस्था गर्न नसकिएको जानकारी उहाँले दिनुभयो । जिल्लाका अन्य खार्पुनाथ, सर्केगार्ड, चङ्खेली र अदानचुलीले भने यसतर्फ कुनै काम थालेका छैनन् ।