प्रेमराज सिम्खडा
कालीकोट फागुन २६ गते । कालीकोटको खाँडाचक्र नगरपालिकामा भाइरल ज्वरो फैलिएपछि चिकित्सक परिचालन गरिएको छ । जिल्ला सदरमुकाम मान्मसँग जोडिएको खाँडाचक्र नगरपालिका वडा नं २ मा इन्फुलुएन्जा जस्तै भाइरल देखा परेपछि चिकित्सक सहितको टोली परिचालित गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले नगरको स्वास्थ्य तथा सरसफाइ शाखाले भाइरल ज्वरो फैलिएकाले चिकित्सक पठाई दिन पत्राचार गरेपछि स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक सहितको एक टोली प्रभावित क्षेत्रमा पठाएको बताउनुभयो । बिहीबार मात्र जिल्ला अस्पताल कालीकोटका आएका प्रभावित क्षेत्रका २१ जनामा इन्फुलुएन्जा जस्तै लक्षण देखा परेपछि अस्पताल पनि चिन्तित भएको बताउनुभयो ।
सूचना अधिकारी महतले २२ गते बिहान आर.आर.टी र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखा बिचको संयुक्त बैठकले प्रकोप प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली परिचालन गर्ने निर्णय गरेको बताउनुभयो । प्रभावित क्षेत्र वडा नं २ मा चिकित्सकको टोलीले गरेको स्वास्थ्य परीक्षणमा एकै दिन ८३ जना बिरामी भेटिएका छन् ।
खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख अहेव रवीन्द्र सेजुवालले जिल्ला अस्पताल कालीकोटका डाक्टर दर्शनप्रसाद पाण्डेको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मी टोलीले जाँच गर्दा ८३ जना बिरामी फेला परेको बताउनुभयाे। यो प्रकोपमा सबै भन्दा बढी महिला प्रभावित भएका छन् । ५३ जना महिलामा प्रकोप अर्थात् लक्षण देखा परेको छ भने ३३ जना पुरुषमा देखिएको सेजुवालले बताउनुभयो । नागरिकको स्वास्थ्य परीक्षणमा खटिएका डाक्टर दर्शनप्रसाद पाण्डेले गाउँ भरि बिरामी परेको बताउनुभयो ।
उहाँले कुनै घर परि खाली छैन । उहाँहरूको स्वास्थ्य परीक्षण सहित आवश्यक औषधी र सल्लाह दिएका छौ । ज्वरो उच्च छैन । जति जना जिल्ला अस्पतालमा पुग्नु भयो उहाँहरू जस्तो कडा लक्षण त छैन, तर जोखिम छैन भन्ने अवस्था पनि नभएको डाक्टर पाण्डेको भनाई छ । अस्पतालको नजिकैको गाउँ भएकाले आतिनु पर्ने अवस्था भने नभएको चिकित्सकको भनाई छ । उमेर गत भन्दा पाँच वर्ष मुनीका १९ जना ६ देखि ५९ वर्ष समूहका ५८ जना र ६० माथिका ९ जनामा भाइरल ज्वरो फैलिएको छ ।
एक दिनको स्वास्थ्य जाँचमा भेदिएका ८३ मध्यका चार जनामा भने उच्च प्रकोप फेला परेको स्वास्थ्यकर्मी भनाई छ । उनीहरूलाई जिल्ला अस्पतालमा भर्ना गरेर नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ भने उनीहरूको उपचार पनि भइरहेको छ । यस्तो समस्या वडा नं २ मा बेला बेला आउने गरेको छ । खासै अहिले सम्म कारण भनेको सरसफाइको अभाव मात्र भन्ने छ डाक्टर पाण्डेले भन्नुभयो । जिल्ला अस्पताल कालीकोटमा कार्यरत अहेव हरिप्रसाद पाण्डेले २०६८ साल तिर दसैँमा राँगाको मासु खादा गाउँ नै बिरामी परेदेखि बेला बेला यहाँ समस्या आइरहने गरेको सुनाउनुभयो ।