• २६ फागुन २०८१, सोमबार

जटिल स्वास्थ्य समस्या ल्याउँदै नसर्ने रोग

blog

नसर्ने रोग अभियानबारे जानकारी दिनुहुँदै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन २५ गते । समुदायमा पछिल्ला केही वर्षयता सरुवा रोगभन्दा नसर्ने रोगहरुका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको बताइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको सञ्चारकर्मीका लागि नसर्ने रोग पहिचान, रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण, अन्तरक्रिया र पैरवी गोष्ठीमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले सरुवा रोगभन्दा नसर्ने रोगका कारण समुदायमा समस्या जटिल बन्दै गएको बताउनुभयो ।

“पछिल्ला केही वर्षयता समुदायमा सरुवा रोगभन्दा पनि नसर्ने रोगका कारण सर्वसाधारण नागरिकको स्वास्थ्य समस्या जटिल बन्दै गएको छ, समुदायमा गएर स्क्रिनिङ गर्दा नसर्ने विभिन्न रोगहरु बढिरहेको पाइएको छ” कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “व्यक्तिको दैनिक जीवनयापन, खानपानलगायतमा ध्यान नदिने हो भने अझ जटिल अवस्था आउन सक्छ ।”

उहाँले नसर्ने रोगका बारेमा जानकारी गराएर समुदायस्तरमा सूचना तथा सन्देश पुगाउन पत्रकारसँगको कार्यक्रम राखिएको बताउनुभयो । “३० वर्षभन्दा माथिका नागरिकलाई नसर्ने रोगको जोखिमबारेमा तपाइँहरुलाई जानकारी गराएर तपाइँहरुमार्फत समुदायमा सचेतना फैलाउन यो कार्यक्रम राखिएको हो” उहाँले भन्नुभयो ।

उहाँले हरेक एक सयजना मृत्यु हुने संख्यामध्ये ६६ जनाभन्दा माथि नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या समुदायस्तरमा तथ्याङ्क रहेको जानकारी दिनुभयो । सुुगर, प्रेसर, क्यान्सर, मुटु, मानसिक समस्या लगायतका नसर्ने रोगका कारण भयावह स्थिति नआओस् भनेर त्यसलाई न्यूनीकरण र रोकथामका लागि समयमै चेकजाँच गर्नुपर्ने, उपचारको दायरामा ल्याउने र जुन समुदायमा निरोगी छन् उनीहरुलाई रोग लाग्नबाट बचाउन विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दैआएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले नसर्ने रोगलाई उपचार भन्दा पनि रोकथाम गर्नुपर्ने बताउँदै नसर्ने रोगहरुको बारेमा सचेतीकरण गर्ने, समुदायलाई सुसूचित गर्ने, जानकारी दिने, स्वस्थकर जीवनशैलीको विकास गर्ने तथा मादक पदार्थको बिक्री, प्रयोगमा नियमन गर्ने गराउने उद्देश्य रहेको बताउनुभयो ।

बाँकेमा गतवर्ष ११ सयजना नागरिकको स्क्रिनिङ गर्दा ३० वर्षमाथिका १५ प्रतिशतभन्दा बढीमा ब्लडप्रेसर देखिएको बताउनुभयो । यस आर्थिक वर्षमा १० हजार बढी नागरिकको स्क्रिनिङ गर्ने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।