• २६ फागुन २०८१, सोमबार

मृत फेला परेका युवकलाई ट्रकले ठक्कर दिएको पुष्टि, चालक पक्राउ

blog

साहारा लिम्बू

फुङ्लिङ, फागुन २५ गते। ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रमा मृत फेला परेका युवकको मृत्यु ट्रकको ठक्करबाट भएको पुष्टि भएको छ। ठक्कर दिने ट्रक चालक सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ मोरङ निवासी सन्जित कामी पक्राउ परेका छन्।

गत फागुन २१ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रा निबासी ४० वर्षीय हर्कवीर केदेम दिपेशलाई बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको थियो। उहाँलाई मालबाहक गाडीले किचेको अनुमान गरिएको थियो।

सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार केदेमको मृत्यु गत फागुन २० गते साँझ प्र.१ ०२ ००१ ख ९३३४ नम्बरको ट्रकले ठक्कर दिएका कारण भएको पुष्टि भएको हो। मृतक केदेम फेला परेको दिन देखि नै सो रुटमा आवतजावत भएका सवारी साधनहरूको चेकजाँच गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ।

सोही क्रममा शनिबार ट्रक चालक पक्राउ परेका हुन्। चालकलाई अहिले जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

मृतक केदेमलाई टाउको र पेटको भाग छताछुल्ल अवस्थामा फेला पारिएको थियो।