• २६ फागुन २०८१, सोमबार

पानी र खाद्य सङ्कटको जोखिम

blog

विश्व जलवायु परिवर्तनको मारमा छ । पृथ्वीको कुनै एक क्षेत्र नभएर हरेकमा यसको नकारात्मक प्रभाव परिरहेको छ । यही गतिमा प्रभाव विस्तार हुँदै जाने हो भने सृष्टिका यावत संरचना ध्वस्तः प्रायको अवस्थामा पुग्ने र यसमा पनि गरिब तथा विकासोन्मुख देशका ग्रामीण क्षेत्रका महिला उच्च जोखिममा पर्ने छन् । पानी र खाद्यान्नको अभावले ठुलो मानवीय सङ्कट निम्त्याउने चेतावनी दशक अघिदेखि निरन्तर प्रवाह भइरहेका छन् । बढ्दो जोखिम र यसबाट बच्ने–बचाउने अनेक उपायमा विश्वव्यापी बहस र सम्झौता पनि भइरहेका छन् । 

पृथ्वीको वातावरण कायम राख्दै पानी र खाद्यान्न सुरक्षामा सबैको साथ–सहयोग आवश्यक छ । जलवायु परिवर्तनका कारण पृथ्वीको पारिस्थितिक प्रणाली नै ध्वस्त बन्दै गएको छ भने पानी र खाद्यान्नका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने चेतावनीसमेत आउन थालेका छन् । अहिले जुन रूपमा तापक्रम वृद्धि भइरहेको छ र जे जस्तो प्रभाव सामाजिक–आर्थिक रूपमा देखा परिरहेको छ, यसलाई न्यून गर्न सकिएन भने अबको केही दशकभित्रै पृथ्वीमा अकल्पनीय सङ्कट आउन सक्छ । यसमा पानीको अभाव, खाद्यान्नको अभाव प्रमुख हुने छ भने यसै कारण प्राकृतिक सन्तुलन कमजोर बन्दै मानव सभ्यता नै जोखिममा पर्न सक्छ ।

कोप–२९ मा सबै देशले आआफ्ना समस्या सुनाए । हिमालको सुरक्षाका लागि हारगुहार गरे । धनी मुलुकबाट जस्तो प्रतिबद्धताको अपेक्षा थियो त्यो आएन । जलवायु वित्तका माध्यमबाट गरिब मुलुकको जनजीवनन सहज बनाउने र वातावरण अनुकूल स्थिति निर्माणमा सघाउने कुरा कागजमै सीमित हुने चिन्ता बढ्दो छ । पृथ्वीमा बढ्दै गएको तापक्रम, प्राकृतिक सम्पदामाथि मानवको अत्यधिक र अनधिकृत दोहन, बढदो जनसङ्ख्याका कारण आज अनेक किसिमका सङ्कटको भारी मानव समाजले भोगिरहेको छ । पृथ्वी मानवसहित सम्पूर्ण प्राणी, वनस्पतिको साझा बासस्थानका रूपमा विगतमा जसरी सुरक्षित र सन्तुलित थियो, आज त्यस्तो अवस्था छैन । आज पृथ्वीमा जे जस्ता सङ्कट जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेको छ– यस्तै अवस्था रहे भाबी पुस्तालाई कसरी सुरक्षित पृथ्वी हस्तान्तरण गर्ने भन्ने प्रश्न उठेको छ । भाबी पुस्तालाई सुरक्षित पृथ्वी हस्तान्तरणको अर्थ स्वच्छ जलवायु नै हो । मानवका लागि बस्नयोग्य भूमि हो । 

अहिले जलवायु परिवर्तनका कारण सर्वाधिक जोखिममा ग्रामीण क्षेत्रका महिला परेका छन् । उनीहरूको प्राकृतिक क्षमता नै ह्रास भएका तथ्य उजागर भइरहेका छन् । नेपालकै कुरा गर्ने हो भने जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाको प्रजनन स्वास्थ्य गम्भीर समस्यामा परेको छ । खुम्बु क्षेत्रका महिलामा यस्तो समस्या देखिएको समाचार केही महिनाअघि मात्रै सार्वजनिक भएको थियो । हिमाल होस् वा तराई तथा नेपाल होस् वा अफ्रिका, मैदानी भूभाग हुन् कि समुद्री किनाराका मुलुक ती सबै क्षेत्रका महिला जोखिममा छन् । घरायसी काममा व्यस्त हुनुपर्ने उनीहरू जलवायु परिवर्तनकै कारण निकै कष्टकर जीवन बिताउन बाध्य छन् भने अनेक स्वास्थ्य समस्याको समना गर्नु परिरहेको छ । 

केही महिनाअघि बिबिसी विश्वसेवाले प्रकाशन गरेको अनुसन्धानमूलक रिपोर्टिङमा अफ्रिकी मुलुक गाम्बियाका ग्रामीण क्षेत्रका महिलाको प्रजनन स्वास्थ्य जलवायु परिवर्तनका कारण जोखिमपूर्ण बन्दै गएको छ । अत्यधिक श्रम गर्नुपर्ने ती महिला तापक्रम वृद्धिका कारण जोखिममा पर्दै गएका छन् । यस हिसाबले हेर्दा जलवायु परिवर्तनका कारण महिला गम्भीर समस्यामा परेका छन् र उनीहरूमा उत्पन्न समस्याले सृष्टि नै अवरुद्ध हुने अवस्था सिर्जित हुँदै गएको सङ्केत आइसकेको छ । प्रकृतिसँग निकट रहने महिलाका लागि जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावले उनीहरूको जीवनशैली नै बदलिदिएको छ । घरगृहस्थीको बोझ बोकेर चारैतिर भौँतारिँदै खाद्यान्न, पानी र इन्धनको जोहो गर्नुपर्ने बाध्यतामा महिला रहनु परेको छ ।

जलवायु परिवर्तनका अनेक प्रभावको चर्चा विश्वव्यापी भइरहँदा महिलाको मुद्दाले अझै प्राथमिकता पाउन सकेको छैन । विश्वको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा विपन्न जीवन बिताइरहेको अहिलेको सन्दर्भमा ती विपन्न देशका महिलाको अवस्थाका बारेमा कुनै चासो दिइएको छैन । अहिले जलवायु परिवर्तनका कारण भइरहेको वातावरणीय ह्रासको सबभन्दा बढी मार खेपिरहेका गरिब मुलुकका ग्रामीण क्षेत्रका महिलाको जीवनस्तर नाराले मात्र सुध्रिँदैन भन्ने यथोचित ज्ञान कसैमा देखिँदैन । 

वैदिक सनातन धर्म प्रकृतिसँग सम्बन्धित छ । त्यसै भएर यो धर्मले प्राकृतिक विनाशलाई निषेध गरेको छ । नदी, वनजङ्गल, गिरिकन्दरा, सिमसार क्षेत्र विनाश गर्न नहुने, यी क्षेत्रमा खेतीकिसानी र संरचना बनाउन नहुने, देवता रिसाउँछन् भन्ने मान्यता थियो । हरेक काम सुरु गर्दा विश्व शान्तिको कामनाबाट सुरुवात हुन्थ्यो, अहिले पनि छ । वातावरणसँग सम्बन्धित पक्षले गाउँघरमा चलिरहेका यस्ता प्रविधिको वैज्ञानिक अध्ययन गरेर संस्कृति–परम्परा पनि जोगिने र वातावरण पनि संरक्षण हुने कार्यक्रम अघि सार्नु पर्छ ।

नेपालका लागि मात्र होइन, विश्वका धेरै मुलुकका लागि पानी र खाद्यान्नको स्रोत हो र भविष्यमा पनि कायम रहने छ । हामीले हाम्रा सम्पदाहरूको संरक्षण गर्न सक्यौँ भने यसबाट भविष्यमा ठुलो लाभ लिन सकिने छ । तत्काललाई देशभरमा रहेको तालतलैया र नदी किनारका जमिनको संरक्षण गर्ने हो भने नेपालले अहिले भोगिरहेका अनगन्ती समस्याको समाधान हुने छ । 

नेपाललाई प्रकृतिले वरदानका रूपमा दिएको हिमाल, पहाड र तराईको आफ्नै विशेषता छ । यी तीन क्षेत्र एक अर्कासित सम्बन्धित छन् । हिमालको पानी, पहाडको जडीबुटी र तराईको अन्नले नेपाल र नेपालीलाई पालन–पोषण गरिरहेको छ । यतिबेला यी तिनै क्षेत्र अनेक विपत्तिको सिकार भइरहेका छन् । पानीका स्रोत नासिँदै छन् भने तराईको उर्वर भूमि पनि बिस्तारै मरुभूमीकरण हुने हो कि भन्ने चिन्ता बढेको छ । 

हिमालको हिउँ पग्लदै जाने, तराई मरुभूमीकरण हुँदै जाने, पहाडका जङ्गल मासिँदै जाने गर्दा नेपालको जैविक विविधता पूर्ण रूपमा नष्ट हुने छ र यसले नेपाली जनजीवन कष्टकर हुने छ । त्यस कारण यो पुस्ताले भाबी पुस्तालाई जीवनदायिनी पानी, स्वच्छ सास फेर्ने हावा र खाद्यान्नको सुरक्षाका लागि चाल्नुपर्ने कदम चाल्नै पर्छ । यसका लागि कृषिप्रणाली, जलप्रणाली, वायुप्रणालीको सन्तुलित र स्वच्छ अवस्था कायम राख्दै नदी, तालतलैयाको शुद्धतामा कठोर कदम चाल्नुको विकल्प छैन । उपत्यकाका फाँट हरियाली पार्ने प्रमुख नदी र खोला किनार अतिक्रमण भएको छ, यसले नदीको प्राकृतिक स्वरूप साँघुरिएको छ भने वर्षायाम होस् वा बेमौसममा पर्ने भीषण वर्षाले ठुलो जनधनको क्षति भइरहेको छ । 

नेपालको हिमाली क्षेत्रको सुरक्षासँगै यहाँको तालतलैया, सिमसार, नदीको संरक्षण र शुद्धतामा विशेष योजनासहित कार्यान्वयनमा जान ढिलाइ गर्ने र वर्षको एक पटक हिमाल दिवस, सिमसार दिवस, वातावरण दिवस मात्र मनाएर भाषण र योजना सुनाएरै समय व्यतीत गरिरहने हो भने भोलिका दिनमा जलस्रोतमा धनी, हिमाली देशका जनता पानीका लागि छट्पटिनुपर्र्ने मात्र होइन बसाइँसराइको बेगले असन्तुलित जनसङ्ख्याको चापबाट अर्को मानवीय समस्या उत्पन्न हुन सक्छ । सिमसार क्षेत्रको संरक्षण मात्र होइन वातावरण संरक्षणकै लागि नारावादी सोच त्यागेर परम्परागत प्रविधि र प्रवृत्तिको संरक्षण गर्दै जनताले आफैँ गरिरहेको व्यवहारमा प्रोत्साहित गर्नु पर्छ । 

जलवायु वित्तबाट प्राप्त धनराशि महिला स्वास्थ्य र उनीहरूको दैनिक सहज बनाउन खर्च गर्नु पर्छ । अहिले नै महिला पानी र घरेलु इन्धनका लागि अत्यधिक श्रम गर्नुपर्ने अवस्थामा छन् भने खाद्यान्नको जोहो अर्को चुनौतीको विषय बन्दै गएको छ । नेपालका ग्रामीण क्षेत्रका महिलाको जीवनरक्षा र उनीहरूको न्यूनतम मानव अधिकार रक्षाका लागि पनि जलवायु परिवर्तनबाट उत्पन्न भइरहेका सङ्कटका कारण उत्पन्न कष्टकर दैनिकीलाई सहज बनाउन समाजका हरेक पक्ष सक्रिय हुनु पर्छ । जलवायु वित्त महिला स्वास्थ्य, पानी र खाद्यान्न जोगाउन प्रयोग हुनु पर्छ ।