• २५ फागुन २०८१, आइतबार

दुई प्रदेश जोड्दै क्रिकेट रङ्गशाला

blog

बोमलाल गिरी

चितवन, फागुन २४ गते । गुल्मीका विनोद कुँवरको झण्डै ६० करोड एकल लगानीमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको एक्स्ट्रा टेक ओभल र भरतपुर महानगरपालिकाले स्वामित्व लिएर निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला सँगै उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढाइने भएको छ। 

इन्जिनियरहरूसहित एक्स्ट्रा टेकको टोलीले गौतमबुद्ध रङ्गशालाको अवलोकन गरेपछि महानगर प्रमुख रेनु दाहाल र एक्स्ट्रा टेकका प्रवन्ध निर्देशक विनोद कुँवरबिच दुबै रङ्गशालासँगै उद्घाटन गर्ने गरी निर्माण कार्यलाई तिब्रता दिने समझदारी भएको हो । छिट्टै महानगर प्रमुखसहितको टोलीले एक्स्ट्रा टेक ओभलको पनि भ्रमण गर्ने भएको छ । यसरी हेर्दा यी दुई क्रिकेट रङ्गशाला लुम्बिनी प्रदेश र बागमती प्रदेशलाई जोडन सफल भएका छन् । 

दुबै रङ्गशाला निर्माणको काम सकिन अब २० देखि २२ महिना बाँकी छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणको जग बसालेर अलपत्र परेको अवस्थामा गौतमबुद्ध क्रिकेट रङ्गशालालाई महानगरले स्वामित्व लिएर निर्माण गरिरहेको छ । गत असारदेखि हिमालयन कालिन्चोक बिबिआर जेभीले ७८ करोड रूपियाँमा ठेक्का लिएको थियो । जसको अवधि सकिन अब २२ महिना बाँकी रहेको महानगरका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । 

‘‘हामीले पनि अबको २० देखि २२ महिनाभित्रमा अन्तिम फिनिसिङ गर्ने तयारी गरिरहेका छौं, यताको पनि त्यही अवधिमा सकिने भएकाले एकैचोटी उद्घाटन गर्ने गरी तयारी गरौं, यसले क्रिकेट प्रेमी र खेलाडीलाई नयाँ उत्साह थप्छ,’’ प्रवन्ध निर्देशक कुँवरको प्रस्ताव थियो । 

जवाफमा महानगर प्रमुख दाहालले पनि सँगै उद्घाटन गर्ने प्रस्तावलाई समर्थन गर्नुभयो । ‘‘दुबै रङ्गशाला एकै पटक उद्घाटन गरौं भन्ने विनोद जिको प्रस्ताव मञ्जुर छ, उहाँको प्रस्तावलाई सम्मान र समर्थन गर्छौं र हामी पनि त्यही समयमा सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिन्छौं,’’ महानगर प्रमुख दाहालले भन्नुभयो । 

महानगरका सिनियर डिभिजन इन्जिनियर आचार्यका अनुसार गौतमबुद्ध रङ्गशाला निर्माणको काम चरणबद्ध रूपमा भइरहेको छ । हाल प्रथम चरणको रूपमा १५ हजार दर्शक अट्ने प्यारापिट निर्माणको काम तीब्रताका साथ भइरहेको उहाँले बताउनुभयो । ७८ करोड रूपियाँमा ठेक्का दिइएको रङ्गशाला निर्माणका लागि बजेट अभाव नभएको महानगर प्रमुख दाहालले बताउनुभयो ।

सङ्घीय सरकारबाट २५ करोड, बागमती प्रदेश सरकारबाट १० करोड र महानगरपालिकाबाट ५ गरी ४० करोड रुपियाँ महानगरको खातामा जम्मा भइसकेकाले बजेटका कारण रङ्गशाला निर्माणमा समस्या नहुने उहाँको भनाइ छ । ‘‘अहिलेलाई रकम जम्मा भइसकेकाले बजेट अभाव हुँदैन, प्रदेश सरकारले पनि बजेट सुनिश्चितता गरेको छ, तर सङ्घीय सरकारको पनि जिम्मेवारीको विषय भएकाले उसलाई पनि आगामी आर्थिक वर्षमा रकम थप्न झकझकाउनु पर्छ,’’ महानगर प्रमुख दाहालले भन्नुभयो । 

महानगरले ३० महिनामा सम्पन्न गर्ने गरी असारमा नयाँ ठेक्का लगाएको गौतमबुद्ध रङ्गशाला निर्माणको काम ८ महिनामा झण्डै २० प्रतिशत सम्पन्न भएकाले लक्ष्यभन्दा छिटो काम सम्पन्न हुनेमा महानगर आशावादी छ । प्यारापिटलाई महत्त्व दिएकाले मैदानमा देखिने गरी धेरै काम नभएको भए पनि पिच निर्माण र दुबो रोप्ने काम गर्ने बित्तिकै भौतिक प्रगती धेरै देखिने सिनियर डिभिजन इन्जिनियर आचार्यको भनाइ छ । एक हप्ता भित्रै मैदानको काम सुरु गर्ने गरी बङ्गलादेशबाट क्युरेटर मगाइएको उहाँले जानकारी दिनुभयो । 

यो कुरामा एक्स्ट्रा टेक पनि विश्वत देखिएको छ । ‘‘हामीले पहिले भौतिक पूर्वाधारभन्दा आइसिसीको मापदण्ड तिर ध्यान दियौं, त्यसैले हाम्रो प्रगती धेरै देखिएको जस्तो लागेको हो, प्रवन्ध निर्देशक कुँवरले भन्नुभयो, ‘‘पिच निर्माण र दुबो रोप्ने बित्तिकै यहाँको प्रगती धेरै देखिन्छ,  हाम्रोभन्दा यहाँको काम छिटो हुन सक्छ ।

मैदानलाई प्राथमिकता दिएको एक्स्ट्रा टेकले खेल खेल्न लायक बनाइसकेको छ । जहाँ प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । अन्य भौतिक पूर्वाधार तर्फ भने यो वर्ष पाँच हजार दर्शक अटाउने र अर्को वर्ष १० हजार हटाउने गरी क्रमैसँग १५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने कुँवरले बताउनुभयो । महानगरले बनाउने भएकाले भरतपुरको रङ्गशालामा फ्लड लाइट राख्ने लगायत काम गर्न सजिलो हुने कुँवरको बुझाई छ । 

दुबै रङ्गशाला भौगोलिक हिसाबले पनि नजिक छन् । वातावरण समान छ । नारायणघाट–बुटबल सडक निर्माणको काम सम्पन्न हुने बित्तिकै दुई घण्टामा सहजै आवतजावत गर्न सकिन्छ भने भरतपुर–भैरहवा सिधा उडान गर्न पनि सकिने भएकाले लिगहरू सञ्चालन गर्न सजिलो हुने र भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलाउन सकिनेमा महानगर प्रमुख दाहाल र एक्स्ट्रा टेकका निर्देशक कुँवरको बुझाई छ । 

एक्स्ट्रा टेकको पिचका लागि रातो माटो प्रयोग गरिएको छ भने गौतम बुद्धमा कालो माटो प्रयोग गरिने भएको छ । कालो माटोको पिचलाई उत्कृष्ट मानिने जिल्ला क्रिकेट सङ्घ चितवनका अध्यक्ष सुदिप पियाले बताउनुभयो । 

साढे पाँच बिघा क्षेत्रफलमा बनेको एक्स्ट्रा टेकको मैदानको परिधि ८० मिटरको रहेको छ भने २२ बिघा क्षेत्रफल ओगटेको गौतमबुद्धको परिधि ७५ मिटर रहेको छ । अध्यक्ष पियाका अनुसार ६५ मिटर माथि परिधिको मैदान अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ । 

कम्तिमा यस्तै पाँच वटा रङ्गशाला निर्माण भएमा एक दिवसीय मान्यता सधै कायम गर्न र टेस्ट राष्ट्रको मान्यता पाउन सहज हुने भएकाले मैदान निर्माण र स्तरोन्नती गर्न सरकारले पनि ध्यान दिनुपर्ने उहाँहरूको भनाइ छ । ‘‘दुबै मैदान एकले अर्कोलाई सहयोग गर्दै जाने हो भने क्रिकेटको विकास हुन्छ । त्यो भनेको देशको विकास हो,’’ प्रमुख दाहाल र कुँवरले थप्नुभयो ।