• ६ वैशाख २०८२, शनिबार

देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि खेलकुद उपयुक्त माध्यम : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह शनिबर भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

भक्तपुर, फागुन २४ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि खेलकुद उपयुक्त माध्यम भएको बताउनुभएको छ ।

शनिबर भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले खेलकुदको महत्त्वबारे बताउनुभएको हो । असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकुदको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ छ ।

‘‘जति बढी खेलाडी उत्पादन गर्न सक्यौं त्यतिनै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकुदको महत्त्वलाई सबैले बुझ्नुपर्छ,’’ उहाँले भन्नुभयो ।


उहाँले खेलकुदले खेलाडीको स्वास्थ्य राम्रो हुने भन्दै आफ्नो रुचि भएको कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिनुभयो । ‘‘पहिला खेलकुद होइन पढाइमा मात्र ध्यान दिनुपर्छ भन्ने सोचाइ थियो । तर समय परिवर्तन हुँदै गइसकेपछि अहिले पढाइमा त रुचि राख्नु नै पर्छ, विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद पनि आवश्यक छ भन्ने धारणा विकास हुँदैछ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकुदले अनुशासित बन्न सिकाउने भएकाले खेलकुद मानव जीवनका लागि आवश्यक रहेको बताउनुभयो ।