• २६ फागुन २०८१, सोमबार

मधेशमा नाट्यपरम्परा समृद्ध विगत शिथिल वर्तमान

blog

लोकनाट्य मञ्चनमा मधेशको इतिहास समृद्धशाली छ । आधुनिक नाट्य परम्परासमेत समृद्ध रहेको मधेशमा पछिल्ला दिनमा नाट्य मञ्चन शिथिल बन्दै गएको छ । लोकनाट्यमा रस बसेका मधेशका दर्शकलाई आधुनिक नाटकको स्वाद चखाउने कार्य कवि शेखराचार्य ज्योतिरीश्वर ठाकुरले गर्नुभएको मानिन्छ । डा. प्रफुल्लकुमार मौनले ‘नेपालको मैथिली साहित्यको इतिहास’ पुस्तकमा ठाकुरको ‘धुर्तसमागम’ नाटकलाई मैथिलीको सर्वप्राचीन नाटक दाबी गर्नुभएको छ । बारा जिल्लाको सिम्रौनगढमा अवशेष रहेको तत्कालीन कर्णाट राज्यको दरबारमा आश्रित ठाकुरले परम्परागत लोकनाटकको निरन्तरतासँगै आधुनिक नाटकको रचना र मञ्चनमा विशेष योगदान दिनुभएको थियो ।  

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित मैथिली कवितासङ्ग्रहमा  ज्योतिरीश्वरको जीवनकाल (१२८८–१३४० इं) मानिएको छ । सोही पुस्तकको कवि परिचयमा उहाँको ‘धूर्तसमागम’ मा हास्य प्रहसनलाई मुख्य प्राथमिकता दिइएको उल्लेख छ । नाटककार घिमिरे युवराजले ‘धूर्तसमागम’ सँगै विद्यापतिको ‘गोरक्षविजय’ लाई मैथिली रङ्गमञ्चको सबैभन्दा पुरानो नाटक भनेर चर्चा गर्नुभएको छ । डा. प्रतापनारायण झाले सन् ११८० लाई कर्णाटकालीन नाटकको प्रारम्भ विन्दु मान्नुभएको छ ।  

साहित्य अन्तर्गत मूलतः काव्य, आख्यान, नाटक र निबन्ध गरी मुख्य चार विधा तथा तिनका उपविधा पर्छन् । साहित्यको विकासव्रmमसँगै ‘कविता’ र यस अन्तर्गत पर्ने लयात्मक–गेयात्मक रचनालाई मात्र ‘काव्य’ र चारै विधाका रचना–सिर्जनालाई चाहिँ ‘साहित्य’ भन्न थालिएको पाइन्छ । उपन्यास, निबन्ध, कथा र कवितामा श्रव्य तŒव मात्र हुन्छ । नाटकमा श्रव्य र दृश्य दुवै तŒव हुने भएकाले मानसपटलमा सजिलै प्रवेश पाउने गरेको मान्यता छ । 

मधेशको गाउँसहरमा लोकनृत्य, लोकनाच तथा लोकनाटक मञ्चन हुने परम्परा निकै पुरानो हो । काठमाडौँ उपत्यकाका मल्लकालीन राजाहरूले नाट्यकलाको विकासमा योगदान दिएको विषय उहाँहरूको रचना तथा पे्ररणाबाट रचित नाटकहरूबाट अध्ययन गर्न सकिन्छ । कवि, नाटककार, आख्यानकार र निबन्धकारको परिचय बनाएका साहित्यकारका रचनाहरूले कम्तीमा पनि दुई वटा क्षेत्रको प्रतिनिधित्व गरेकोे पाइन्छ । ज्योतिरीश्वर, विद्यापतिलगायतका शताब्दीऔँ पुराना साहित्यकारहरू कविकै उपाधिबाट परिचित भए पनि उहाँहरूले रचना गर्नुभएको नाटकको अझैसम्म चर्चा हुने गर्छ । 

अध्येता तुलसी दिवसले लोकनाटकलाई लोकधर्मी स्वरूप मान्दै सामूहिक आवश्यकता र प्रेरणा निर्मित लोकनाटक, लोककथा, लोकविश्वास, लोककला, लोकतŒवलाई अँगालेर जीवनको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभएको छ । नाट्य, गीत र नृत्य लोकसंस्कृतिका तीन स्तम्भ हुन् । मल्लकालमा काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपामा थुप्रै मैथिली नाटकहरू लेखिएर मञ्चन भएका थिए । 

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित मल्लकालीन मैथिली नाटक पुस्तकमा लेखक डा. चन्देश्वर शाहले १५३३ सालमा भक्तपुरका राजा विश्व मल्लको उपस्थितिमा मञ्चन भएको 

‘विद्याविलाप’ लाई नेपालमा रचित मैथिलीको पहिलो नाटक भनेर चर्चा गर्नुभएको छ । यस नाटकमा मैथिली गद्य प्रयोग भएको थियो । 

त्रैलोक्य मल्लको शासनकालमा कृष्णसम्बन्धी नाटक र  जगज्योतिर्मल्लको समयमा ‘मुदितकवलयमाश्व’, ‘हरगौरी विवाह’, ‘कुञ्जविहार’ नाटक लेखनसँगै मञ्चन भयो । जगतप्रकाश मल्लको समयमा ‘प्रभावतीहरण’, ‘नलीय नाटक’, ‘मल्लयगन्धिनी’, ‘उषहरण’, ‘पारिजातहरण’, ‘मूलदेवशशिदेवोपाख्यान’, ‘मदनचरित’, ‘मालती–माधव’ नाटकको लेखन र मञ्चन भएको हो । जितामित्र मल्ल, भूपतीन्द्र मल्ल, रणजित मल्लको समयमा समेत थुप्रै नाटक लेखन र मञ्चन भएको पाइन्छ ।  भक्तपुरको मल्लकालीन केही नाटकमा संस्कृत, मैथिली र नेवारी भाषाको मिश्रण पाइन्छ । भगवान् राम र कृष्णको लीलाबाहेक धार्मिक ग्रन्थहरूमा उल्लेख भएका प्रसङ्गहरूबाट नाटक तयार भएको देखिन्छ । केही नाटकमा आधुनिक परिस्थितिलाई सम्बोधन गरिएका छन् । राजाको आज्ञाबाट नाटक लेख्ने चलन भएकाले पनि नाटककारको नाम गौण भएको हुन सक्ने प्रबल सम्भावना छ । अहिलेको समयमा काठमाडौँ उपत्यकमा नेपालकै दुई अथवा दुईभन्दा बढी भाषा मिश्रण गरेर एउटै नाटक मञ्चन हुने चलनमा निकै कमी आएको देखिन्छ । 

नाटकको प्रभाव पछिसम्म रह्यो


म सानो छँदा टोलमा नाटक मञ्चन हुन्थ्यो । प्रायः टोलका दाइहरूले नाटक खेल्नुहुन्थ्यो । उहाँहरूले जनकपुरको सरस्वतीटोलमा मञ्चन गर्नुहुने नाटकको म पनि एउटा दर्शक थिएँ । सरस्वती हाइस्कुलअगाडि मञ्च बनाएर उहाँहरू नाटक खेल्नुहुन्थ्यो । यो कुरा २०४० सालको दशकको हो । त्यो मञ्च बनाउनेदेखि प्रदर्शनसम्मको साक्षी हामी हुन्थ्यौँ । यो गतिविधिले सरस्वतीटोललाई मात्र नभएर देवीचोकलाई समेत गुलजार बनाएको थियो ।

नाटकको विषयवस्तु र नाम याद नभए पनि उहाँहरू अर्थात् पात्रहरूको भावभङ्गीमा आजसम्म मेरो मानसमा ताजै छ । यद्यपि अलि पछि त्यो नाटकको ठाउँ भिडियोले लियो; जसमा ठुलो टेलिभिजन सेटमा नयाँ नयाँ चलचित्र चलाइन्थ्यो । टोलका सबै जना त्यही हेर्न जम्मा हुन्थ्यौँ । छठ पर्वमा रातभर भिडियो चलेपछि त नाटक बन्द नै भयो । टोलमा नाटक देखाउने काम बन्द भएपछि मिथिला नाट्य कला परिषद्ले आयोजना गर्ने नाटक नै हेर्ने गरिन्थ्यो; जसमा जटजटिन प्रमुख हुन्थ्यो । यद्यपि आफूले बाल्यकालमा हेरेको नाटकको प्रभाव मभित्र  पछिसम्मै रह्यो । हुन त मेरो पहिलो रचना कविता हो । काव्य रचनाको गति अझैसम्म छ । पहिलो कवितापछि नाटक रचना गर्न खोजेँ, जुन पूर्ण हुन सकेन ।


मल्लकालमै कान्तिपुरका राजा नरेन्द्र मल्ल, प्रताप मल्ल, पार्थिवेन्द्र मल्ल, भूपालेन्द्र मल्ल, भास्कर मल्ल, जगज्जय मल्ल तथा पाटनका राजा सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, योगनरेन्द्र मल्ल, विष्णुसिंह मल्ल एवं बनेपाका राजा रण मल्लको शासनकालमा समेत मैथिली नाटकको रचना तथा मञ्चन भएको पाइन्छ । 

‘नट्’ मूल धातुमा ‘ण्वुल्’ प्रत्यय जोडिएपछि ‘अक’ आदेश भएर बनेको ‘नाटक’ शब्दको अर्थ स्वाङ, नाट्य, अनुकरण, नक्कल वा अभिनय भन्ने हुन्छ । नाटक स्वाभाविक विषयवस्तुमा आधारित प्रदर्शनमैत्री, अभिनयमैत्री वा दृश्यात्मक सम्प्रेषणका लागि अनुकूल हुनु आवश्यक मानिन्छ । नाटक पढिनेभन्दा हेरिने विधा भएका कारण यसलाई दृश्यकाव्य भनिएको हो । पूर्वीय जगत्मा नाटकलाई नाट्य, नट्, नृत्त् आदि विविध सन्दर्भबाट चिनाइएको पाइन्छ । नट्ले विशेषतः अभिनयलाई लक्ष्य गर्छ । नृत्त्ले नत्र्तनलाई सङ्केत गर्छ । यही कारणले नाटकलाई केवल अभिनयसँग मात्र जोडेर हेरिँदैन । नाटकलाई गायन, नत्र्तन, लीला, खेल, प्रहसन आदि सबै पक्षबाट हेर्ने गरिन्छ । प्रायः नाटकलाई मञ्चबाट प्रदर्शन गर्ने परम्परा परापूर्वकालदेखि नै चल्दै आएको हो । नाटकहरू धेरै अङ्क र दृश्यमा लेखिन्छन् । नाटकमा घटना, परिवेश र पात्रको गतिविधि अनुसार अङ्क र दृश्यको व्यवस्थापन गरिएको हुन्छ; जसलाई निरन्तरता वा मञ्चीय प्रर्दशन नायक, पात्र वा चरित्रले अगाडि बढाउने गर्छ । यसलाई चरित्र चित्रण भनेर बुझिन्छ अर्थात् नाटक खेल्ने पात्रलाई नाट्यकर्मी भनेर बुझिन्छ । एकैप्रकारका पात्रले गर्ने अभिनयलाई एकल नाटक भनिएको छ । यस्तो नाटकको अभ्याससमेत केही ठाउँमा हेर्न सकिन्छ ।

दर्शकलाई दृष्टिगत गरी नाटकमा पात्रगत विविधता हुन्छ । स्त्री, पुरुष, मुख्य, सहायक, गौण, सत्, असत्, मञ्चीय, नेपथ्य, सूच्य आदि विविध पात्रको संयोजनले नाटकलाई जीवन्त तुल्याउन मद्दत गर्छ । यसले दर्शकलाई समेत मनोरञ्जन गराउँँछ । संवादलाई पात्रले हाउभाउका साथ प्रस्तुत गर्नु पर्छ । दर्शकलाई बाँध्न र नाटकको अन्तिम समयसम्म दर्शकलाई राख्न हरेक पात्रको आफ्नो भूमिका हुन्छ । नाटक मञ्चन एकल विषय होइन, यो सामूहिक रूपमा गरिने कार्य हो । एउटा पक्ष कमजोर भएमा सबै कमजोर हुने भएकाले सबैको भूमिका महŒवपूर्ण मानिन्छ । नाटक मञ्चनका लागि बनाइने मञ्चदेखि लिएर लाइट, बाजागाजा, मेकअप, प्रस्तुतीकरण सबै महŒवपूर्ण हुन्छ र यसका लागि तयारी गर्ने पक्षको भूमिकासमेत गौरवान्वित गर्ने हुन्छ । 

मल्लकालपछि नाटकलाई आधुनिकतासँगै जीवनदान प्रदान गर्ने काम जनकपुर क्षेत्रका विभिन्न सङ्घसंस्था तथा नाटककारबाट भएको देखिन्छ । जनकपुरनजिकैको लोहनागाउँमा २०१३ सालमा वासुदेव ठाकुरको मैथिली नाटक ‘सत्यनारायण भगवान्’ मञ्चन भएको थियो । त्यस्तै २०१५ सालमा जनकपुरमा मञ्चन भएको पण्डित जीवनाथ झा रचित ‘दुर्गा विजय’ लाई जनकपुरको आधुनिक मैथिली नाटक मानिन्छ ।

साहित्यका अन्य क्षेत्रसँगै नाट्यकलाको प्रतिनिधित्व गर्ने जिम्मेवारी मिथिला नाट्य कला परिषद् (मिनाप) लगायतका संस्थाले लिएका छन् । यो संस्थाले अझैसम्म मैथिली साहित्य र नाट्य क्षेत्रलाई गति दिइरहेको छ । भाषिक आन्दोलनसहित रङ्गमञ्च, साहित्य, सङ्गीत र नृत्यको क्षेत्रमा २०३६ सालमा स्थापना भएको मिनाप, धनुषाको परवाहामा रहेको युवा नाट्यकला परिषद (युनाप २०४१), नाट्य समूह आकृति (२०४९), रङ्गदर्पण, रामानन्द युवा क्लब (२०५०), महोत्तरीको जलेश्वरमा स्थापना भएको नटराज मिथिला कला केन्द्र (२०६२) सहित दर्जनौँ संस्थाको योगदान छ । 

मैथिली नाटककारका रूपमा लालदास, मुंसी रघुनन्दन दास, हर्षनाथ झा, तेजनाथ झा, त्रिलोचननाथ मिश्र, आनन्द झा, ठाकुरप्रसाद झा, शम्भुनाथ झा, शिवाकान्त ठाकुर, दामोदर झा, डा. वज्रकिशोर बर्मा, राधाकृष्ण चौधरी, गोविन्द झा, डा. धीरेश्वर झा धीरेन्द्र, रामभरोस कापडी, डा. रेवतीरमण लाल, सुदर्शनलाल कर्ण, डा. राजेन्द्र विमल, डा. सुरेन्द्र लाभसहितको नाम लिने गरिन्छ । यसबाहेक मधेशका थुप्रै व्यक्ति नेपाली, भोजपुरी, अवधि, बज्जिका, थारूसहितको मातृभाषामा नाटक रचना गर्नुका साथै मञ्चन गरिरहेका छन् । अहिलेसम्म मैथिली नाटकलाई जीवन्त राख्ने काममा निरन्तर खटिइरहने व्यक्तिमा रमेशरञ्जन झा र महेन्द्र मलङ्गियाको नाम लिने गरिन्छ । बहुप्रतिभाका धनी झा युनापको संस्थापकमध्ये एक हुनुहुन्छ ।  अन्तर्राष्ट्रियस्तरमा नाम कमाउनुभएका मलङ्गियाको मैथिली नाटक लेखन, निर्देशन र शोधकार्यमा विशेष दक्खल छ ।

उपेन्द्र भगत नागवंशीको नेतृत्वमा रहेको आकृति संस्थासँग आबद्ध रहेका कन्दर्प नारायण लाल कर्ण जनकपुर क्षेत्रमा नाटक लेखन र मञ्चनका लागि युवालक्षित गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुन्छ । जनकपुरको नाटक प्रदर्शनको क्षेत्रमा स्त्री पात्रको भूमिका महिलाबाटै गराउने कार्यको थालनी आकृतिले गरेको थियो । योभन्दा अगाडिसम्म पुरुषबाटै स्त्री पात्रको भूमिका निर्वाह गर्न लगाइन्थ्यो ।  

चलचित्रमा सम्पादन गरेर दृश्य बनाउनेभन्दा पनि नाटक दर्शकसामु प्रत्यक्ष प्रदर्शन हो । यसका पछाडि महिनौँको पूर्वाभ्यास लुकेको हुन्छ । पूर्वाभ्यासमा कम समय दिइएकाले पनि नाटक हेर्ने दर्शकको सङ्ख्यामा कमी आएको पूर्वनाट्यकलाकार महेश दास बताउनुहुन्छ । नटराज मिथिला कला केन्द्रका संस्थापकमध्येका एक पङ्क्तिकार चौधरीको लेखन तथा निर्देशनमा पर्सापतैली गाउँमा २०६२ सालमा मैथिली भाषाको नाटक शान्तिको खोजी मञ्चन गरिएको थियो । प्रान्तीय र स्थानीय सरकारको अभ्यास सुरु भएयता समाजसेवालाई प्राथमिकतामा राखेर नाट्य संस्थाहरू खुल्ने व्रmममा ह्रास आउनु, पुराना संस्थाहरूको गतिविधिमा कमी आउनु र नाट्य महोत्सवमा दर्शकको कमीलगायतका चुनौती सम्बोधन गर्न आवश्यक छ ।