• २० वैशाख २०८१, बिहिबार

अविवाहित महिलालाई भत्ता

blog

मुसीकोट समाचारदाता

रुकुम पश्चिम, जेठ १८ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० वर्षमाथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकबाट ४० काटेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष कमला रोका पुनले कार्यपालिकाबाट भत्ता दिने निर्णय भएकाले कार्यविधि बनाएर कार्यान्वयन गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गरिने जनाउनुभयो । 

कार्यपालिकाको बैठकले आकस्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेकालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको अध्यक्ष बिर्खबहादुर विष्टले बताउनुभयो । स्थानीय बासिन्दालाई सहज सेवा प्रवाह गर्नका लागि र केही राहत होस् भनेर गाउँपालिकाले यस्तो निर्णय गरेको बताइएको छ ।

त्यसैगरी लक्षित समुदाय, गरिब, विपन्न वर्गको स्वास्थ्य बीमा गरिदिने निर्णय पनि गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमले सर्वसाधारणलाई सहजता दिएकाले यसमा सबैलाई समेट्न निर्णय गरेको उहाँले जानकारी दिनुभयो । दुई वर्षभित्र गाउँपालिकाका सबै घरलाई खरका छानामुक्त गरी जस्तापाता वा ढुङ्गाका छाना हाल्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । 

लक्षित वर्ग, गरिब, विपन्नका छोराछोरीलाई छात्रवृत्तिमा पठनपाठनको व्यवस्था पनि गरिने भएको छ । अध्यक्ष विष्टले विद्यालयको शिक्षा सुधारका लागि १५ दिनभित्र प्रतिवेदन तयार पार्न शिक्षा संयोजक भूपालसिंह विष्टको संयोजकत्वमा कार्यदल गठन गरिएको बताउनुभयो ।