लमजुङ समाचारदाता
लमजुङ, फागुन २४ गते । कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हात हातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् ।
लमजुङका पहाडी गाउँबस्तीमा पहिले पात बजाएका स्वरहरू सुन्न र देख्न पाइन्थ्यो तर प्रविधिको बढ्दो प्रयोगले अहिले वनजङ्गलमा पात बजाउनेहरू भेटिँदैनन् । कुनै बेला साथीभाइसँग गोठालो जाँदा पातका माध्यमबाटै कुराकानी गर्नेदेखि पात बजाएरै एकअर्कालाई आकर्षण गर्नेसम्मका काम हुने गर्दथे । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जङ्गल गएका बेला विभिन्न रुखका पात मुखमा राखेर बजाउने र एकअर्कालाई भेट गराउने माध्यम हराउन थालेको बताउनुभयो । लोप हुँदै गएको यस्तो कलाको संरक्षणमा प्रतिष्ठान लागिपरेको उहाँले बताउनुभयो ।
आत्मीयता र साङ्गीतिक भाकासँग जोडिएका यस्ता पुराना प्रचलन नयाँ पुस्तासम्म पु¥याउन सके मौलिकता जोगिने प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ ले बताउनुभयो । पात बजाउने प्रतियोगिता हेर्न नेपाली संस्कृति सुरक्षा परिषद्, आसाम भारतका साहित्यकारसमेत आउनुभएको थियो ।
नेपाली संस्कृति सुरक्षा परिषद्, आसामका महासचिव वीरेन्द्र राणाले यस्तो कला जीवनमा पहिलो पटक देखेको बताउनुभयो । “पात बजाएर दुरुस्त गीतको लबज निकाल्न सक्ने कला देखेर हामी त सबै छक्क प¥यौँ,” राणाले भन्नुभयो, “यस्तो जीवन्त कला बचाउन राज्यले ध्यान दिनु पर्छ ।” उहाँले यस्तो कला आसाममा पनि सिकाउने प्रयास गर्ने बताउनुभयो ।
१७ जनाले भाग लिएको प्रतियोगितामा दोर्दी गाउँपालिका–८, दुवारकी सुकमाया मिजार पहिलो हुनुभयो । मध्यनेपाल नगरपालिका–२, तान्द्राङटक्सारकी देवी गिरी दोस्रो र मध्यनेपाल नगरपालिका–१, जिताका सन्तोष भुजेल तेस्रो हुनुभएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनुभयो । त्यस्तै सान्त्वनातर्फ मध्यनेपाल नगरपालिका– २, तान्द्राङटक्सारकी पार्वती नेपाली र मधुकर गिरी हुनुभयो ।