• ७ वैशाख २०८२, आइतबार

‘सडकमा मच्चिँदैमा राजतन्त्र फर्किंदैन’

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २४ गते  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी सडकमा मच्चिँदैमा राजतन्त्र नफर्किने प्रस्ट पार्नुभएको छ । फागुन २१ गतेका मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै मन्त्री गुरुङले इतिहासको गर्भबाट मिल्काएको राजसंस्था फर्किन्छ भन्नु लोकतन्त्र र जनविरोधी कार्य भएको उल्लेख गर्नुभयो ।  

मन्त्री गुरुङले नेपाल जस्तो देश भएकै कारण २५० वर्षसम्म राजाले शासन गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजतन्त्र फालिएपछि नयाँ व्यवस्था आएपछि राजपरिवार सबै जेलमा बस्नुपर्ने, सबै सम्पत्ति हरण गरिनुपर्ने भए पनि पूर्वराजाका परिवारलाई ससम्मान राखेका छौँ । राज्यले सुरक्षा दिएर राजामहाराजा बसेकै नागर्जुन दरबारमा राखिएको छ । उनैले अहिलेको व्यवस्था र दलप्रति कटाक्ष गर्दै शासनमा फर्किन्छु भन्दै छन् । यस्तो भन्नु आफ्नो हैसियत भुलेको हो । दलले गरेको उदार व्यवहार बिर्सेको हो ।”  

‘राजा आऊ देश बचाऊ’ भन्नेलाई व्यङ्ग्य गर्दै मन्त्री गुरुङले आफ्नो दरबार र राजारानीको रक्षा गर्न नसक्नेले कसरी देश बचाउँछ भन्दै प्रश्न गर्नुभयो । उहाँले राजाकै व्यवहार र राजतन्त्रात्मक व्यवस्थाको शोषण, दमन र अत्याचारकै कारण जनताबाट बिदा भएको प्रस्ट पार्नुभयो । अहिलेको लोकतान्त्रिक व्यवस्था भएकै कारण प्रधानमन्त्रीदेखि मन्त्रीको सबैले आलोचना गर्न पाएको तर संविधानले वाक् स्वतन्त्रता दिएको छ भन्ने नाममा कसैलाई गाली गर्न, जातजातिबिच दुर्भावना फैलाउन नपाउने उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले सामाजिक सञ्जाल प्लेटफर्महरू मन्त्रालयमा सूचीकरण हुन नआए कानुनी दायरामा ल्याउन बाध्य बनाउने बताउनुभयो । “हामीले पत्राचार गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छाँै,” उहाँले भन्नुभयो, “फेरि अर्को पटक आह्वान गर्छौं, अटेर गरे कानुनी दायरामा ल्याउँछौँ । सूचीकरण नगरी उम्किन पाइँदैन ।” 

मन्त्री गुरुङले सरकारले भ्रमण टोलीमा एक तिहाइ महिला उपस्थिति हुनुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आगामी चैत ५ देखि ६ सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औँ 

‘एडिसन अफ द बर्लिन इनर्जी ट्रान्जिसन डाइलग’ मा  जान स्वीकृति दिने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी नेतृत्वमा आगामी फागुन २६ गतेदेखि चैत ८ गतेसम्म न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९ औँ सम्मेलनमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ । 

यसै गरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी आगामी फागुन २९ गते बेलायतको लन्डनमा आयोजना हुने  ‘मिनिस्ट्रियल राउन्ड टेबल इभेन्ट अन टेकिङ वाटर सेक्युरिटी एव्रmस द क्लाइमेट–नेचुरल–डेभलपमेन्ट नेक्सस्’ कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दलाई आगामी चैत २६ देखि २७ गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने ‘एन्टी करप्सन ग्लोबल फोरम’ मा  सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (शासकीय मामिला), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषद्को निर्णय छ ।