• २० वैशाख २०८१, बिहिबार

खानेपानीमा उपभोक्ता समितिको लापरबाही

blog

रामेछाप समाचारदाता

रामेछाप, जेठ १८ गते । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले फोहोर पानी वितरण गरिरहेको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । 

समितिले समय–समयमा पानी जम्मा गर्ने ट्याङ्कीको सरसफाइ नगर्दा धारामा धमिलो पानी आउने र स्वास्थ्यमा समस्या देखिने गरेको उपभोक्ताको भनाइ छ । “खानेपानीको ट्याङ्की, माछापोखरीजस्तो खुला देखिन्छ भने ट्याङ्कीमा जम्मा गरिएको पानीमा लेउ तैरिएको छ, कीराफट्याङ्ग्रा र चराचुरुङ्गीले फोहोर गरेका छन्,” खानेपानी उपभोक्ता जय मानन्धरले भन्नुभयो । 

मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले यही अव्यवस्थित र फोहोर ट्याङ्कीमा तामाकोसीको पानी लिफ्टमार्फत तानेर जम्मा गरी उपभोक्तालाई खानेपानी वितरण गरिरहेको छ । नेपाली सेनाको नयाँ गोरख गण ब्यारेकभित्र बनाइएकाले यो खानेपानी ट्याङ्कीसम्म जोकोही पुग्न सक्दैनन् । 

केही दिनअघि धारामा खानेपानी धमिलो आएको र पानी पिउँदा मन्थलीका धेरैका स्वास्थ्यमा समस्या देखिएको गुनासो आएपछि आफूहरू खानेपानीको ट्याङ्की खोज्दै गएको मन्थलीका अर्का उपभोक्ता विश्वास श्रेष्ठले बताउनुभयो । नेपाली सेनाको ब्यारेकभित्र रहेको खानेपानी ट्याङ्कीको अवस्था हेर्दा मन्थली खानेपानी उपभोक्ता समितिले फोहोर पानी वितरण गरेर नागरिकको स्वास्थ्यसँग खेलवाड गरिरहेको भन्दै चिन्ता बढेको बताउनुभयो । 

सुरुमा त ट्याङ्की हेर्न जान निकै कठिन भयो, नेपाली सेनाले सहजै भित्र प्रवेश दिएन, पछि हामी उपभोक्ता हौँ भनेपछि कताकता फोन गरेर सेनाले प्रवेश दियो । त्यसपछि ट्याङ्कीको अवस्था हेर्दा साह्रै नरमाइलो लाग्यो

“सुरुमा त ट्याङ्की हेर्न जान निकै कठिन भयो, नेपाली सेनाले सहजै भित्र प्रवेश दिएन, पछि हामी उपभोक्ता हौँ भनेपछि कताकता फोन गरेर सेनाले प्रवेश दियो । त्यसपछि ट्याङ्कीको अवस्था हेर्दा साह्रै नरमाइलो लाग्यो,” उहाँले भन्नुभयो । उहाँले पानी जम्मा गर्ने पोखरी पूरै खुला रहेको र जम्मा भएको पोखरीमा लेउ लागेको, भ्यागुता र कीराफट्याङ्ग्रा मरिरहेको बताउनुभयो । 

यता, मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष पूर्ण सुवेदीले भने बाहिर आएका कुरा पूर्ण रूपमा गलत रहेको बताउनुभएको छ । खानेपानी ट्याङ्कीमा लेउ लागेर फोहोर देखिए पनि यो लेउ सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सल्लाहअनुसार पानी फिल्टर गर्न रणजोरखोलाबाट लगेर हालेको उहाँको भनाइ छ । 

“सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिकको सल्लाहअनुसार पानी जमाउने पोखरीमा पानीलाई विषालु पार्ने कीटाणु खाने कीरा र लेउ प्रयोग गरिएको हो,” उहाँले भन्नुभयो । देख्दा फोहोरजस्तो देखिए पनि खानेपानी कार्यालयले खुला आकाशमुनि पोखरी राखेर फिल्टर सिष्टम बनाएको उहाँले बताउनुभयो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सब–इन्जिनियर सन्तोषकुमार ठाकुरले भने पानी फिल्टर गर्न लेउ, कीरा र काठका टुक्राहरू राख्ने कुरा आफूलाई थाहा नभएको बताउनुभयो । पानी फिल्टरका लागि बालुवा र पाइपका टुक्राहरू प्रयोग गरिए पनि समय–समयमा सफा गरी परिवर्तन गरिरहनुपर्ने उहाँको भनाइ छ । 

यसैबीच, मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खानेपानी वितरण गर्ने ट्याङ्की फोहोर भएको गुनासो बढेपछि मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रतिनिधिलगायतको टोलीले निरीक्षण गरेको छ । निरीक्षण टोलीको निष्कर्षअनुरूप पानी खान योग्य हो कि होइन भन्ने परीक्षणका लागि सम्बन्धित ठाउँमा पठाइने प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो । 

मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमार्फत खानेपानीको सुविधा लिने अहिले एक हजारभन्दा बढी सदस्य बनिसकेका छन् । यसमध्ये अहिले झन्डै नौ सय सयदस्यको धारामा नियमित रूपमा खानेपानी वितरण भइरहेको छ ।