• १२ साउन २०८१, शनिबार

उडान अनुमति दिन युरोपेली सङ्घ सकारात्मक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १८ गते । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपाली वायुसेवालाई युरोपको आकाशमा उडान अनुमति दिने विषयमा युरोपेली सङ्घका अधिकारीसँग छलफल गर्नुभएको छ । हाल नेपाली वायुसेवाका लागि युरोपेली आकाश खुला छैन ।

बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली सङ्घको मुख्यालयमा भएको छलफलमा युरोपेली सङ्घले सकारात्मक रहेको जवाफ दिएको  जनाइएको छ ।सचिव पौडेलले युरोपेली सङ्घको बाह्य कार्यसेवा महासचिव स्टेफानो सान्निनो, एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका प्रबन्ध निर्देशक गुन्नार विगान्डलगायतका उच्चाधिकारीसँग भेटवार्ता गर्नुभएको हो ।

छलफलका क्रममा नेपाल र युरोपेली सङ्घबीच जारी सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै सहकार्यात्मक सम्बन्धलाई थप सुदृढ गर्दै अघि बढ्ने सहमति दुईपक्षबीच भएको छ ।परराष्ट्र सचिव पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले दुईपक्षीय साझेदारीका विषयमा सो भेटवार्तामा गहन छलफल गरेको थियो । साथै नेपाल र युरोपेली सङ्घबीचको आर्थिक साझेदारी सञ्चालित परियोजनाको विषयमा पनि सो भेटवार्तामा छलफल भएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ । 

नेपाल र युरोपेली सङ्घबीच जारी सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै सहकार्यात्मक सम्बन्धलाई थप सुदृढ गर्दै अघि बढ्ने सहमति दुईपक्षबीच भएको छ ।

गत नोभेम्बरमा काठमाडौँमा भएको १३औँ संयुक्त आयोगको बैठकदेखिका सहकार्यका क्षेत्रको समीक्षा बैठकमा गरिएको जनाइएको छ । छलफल कोभिड–१९ को सामाजिक–आर्थिक प्रभाव, विकास सहयोग, आर्थिक सम्बन्ध र नेपाललाई विकासशील अवस्थाबाट योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने सन्दर्भमा नेपाली उत्पादनमा युरोपेली सङ्घको बजार पहुँच, जलवायु परिवर्तनमा सहयोग र वातावरणीय समस्यालगायतका विषयमा केन्द्रित रहेको दूतावासले उल्लेख गरेको छ । 

परराष्ट्र सचिवले युरोपेली आयोगका महानिर्देशक तथा मध्यपूर्व, एसिया र प्रशान्त क्षेत्रका लागि कार्यवाहक निर्देशक जिन लुइस भिलेसँगको भेटमा नेपाल र ईयूबीचको विकास सहयोगका विभिन्न पक्षबारे छलफल गर्नुभयो ।त्यस्तै अन्य उच्चाधिकारीसँगको भेटमा जलवायु परिवर्तन, वातावरण संरक्षण र अनुकूलन तथा न्यूनीकरण, जलवायु वित्त र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्यबाट विषयमा छलफल भएको जनाइएको छ ।