• ७ वैशाख २०८१, शुक्रबार

दृष्टिविहीनलाई पाठ्यपुस्तक अन्यलाई अनिश्चित

blog

काठमाडौँ, जेठ १८ गते । मुलुकभर सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भइरहेका बेला दृष्टिविहीन विद्यार्थीका हातमा भने पाठ्यपुस्तक पुगिसकेको छ । विगतमा भने ब्रेल पाठ्यपुस्तकको अभावमा दृष्टिविहीनको पढाइ अवरुद्ध हुने गरेको थियो । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पुस्तक नपाउँदा सरकारको निकै आलोचना हुने गरेको थियो । 

तर यस पटक भने अधिकांश विद्यालयमा ब्रेल पुस्तक पुगिसकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस पटक नेपाल नेत्रहीन सङ्घलाई पुस्तक छपाइको जिम्मा दिएको थियो । सङ्घका अनुसार मुलुकभरका ८३ वटा विद्यालयमा एकदेखि १० सम्म दृष्टिविहीन विद्यार्थी पढ्छन् । ब्रेल पाठ्यपुस्तक छपाइ सामान्य पाठ्यपुस्तकभन्दा फरक हुन्छ । यो छपाइमा मसी प्रयोग हुँदैन । बाक्लो कागजमा अक्षर खोपेर (इम्बोस्ड गरी) ब्रेल पुस्तक तयार पारिन्छ । सङ्घका ब्रेल शाखा प्रमुख निरकुमार मगरका अनुसार यस वर्ष मुलुकभरका लागि ९६० सेट पुस्तक छपाइ गरिएको छ । समयमै आफूहरूलाई जिम्मेवारी दिएका कारण पुस्तक छपाइ सहज भएको मगरले बताउनुभयो । 

कक्षा एकदेखि तीनसम्मका विद्यार्थीले चारवटा ब्रेल पाठ्यपुस्तक पढ्नुपर्छ । कक्षा ४, ६, ७ र १० का विद्यार्थीले छवटा पढ्नुपर्छ । कक्षा ५ का विद्यार्थीले पाँच, कक्षा आठका विद्यार्थीले नौ तथा कक्षा नौका विद्यार्थीले पाँचवटा पुस्तक पढ्नुपर्छ । दृष्टिविहीनसहित अन्य प्रकृतिका अपाङ्गता भएका विद्यार्थीलाई समेत पढाइरहेको कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयका प्राचार्य डा. लाक्पा शेर्पाले विगतका वर्षभन्दा यस पटक ब्रेल पाठ्यपुस्तक सहज भएको बताउनुभयो । उहाँका अनुसार यस स्कुलमा पूर्वप्राथमिक तहदेखि १० सम्मका विभिन्न कक्षामा ५० जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहनुभएको छ । 

सामान्यलाई अझै अभाव

विद्यालय तहका सामान्य विद्यार्थीका पाठ्यपुस्तक अभाव भने अहिले पनि कायमै छ । पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाइलाई तीव्रता दिएको दाबी गरे पनि नतिजा चित्तबुझ्दो छैन । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार दैनिक एक लाखभन्दा बढी पुस्तक छपाइ भइरहेको छ । उहाँका अनुसार पुस्तक छपाइका लागि अझै एक महिना जति लाग्छ । जनक शिक्षाले यस वर्षका लागि कक्षा चारदेखि १० सम्मका विद्यार्थीको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । 

बाँकी कक्षाका पुस्तक छाप्ने जिम्मा निजी मुद्रकलाई दिइएको छ । आचार्यका अनुसार कक्षा चारदेखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ ।

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।