• १६ वैशाख २०८१, आइतबार

पारा एथलेटिक्समा निशान र चन्द्रमालाई स्वर्ण

blog

पारा एथलेटिक्सको विभिन्न विधामा विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, जेठ १७ गते । निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगितामा हाेचा पुड्कातर्फ पहिलो हुनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशानले पुरुष दुई सय मिटर दौड र चन्द्रमाले महिला एक सय मिटर दौडमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषतर्फ देवराज घिमिरे दोस्रो र मानबहादुर श्रेष्ठ तेस्रो हुनुभयो । महिला एक सय मिटरतर्फ सिर्जना सेन्चुरी दोस्रो र छोरीमाया थापा तेस्रो हुनुभयो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्ववाधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला दुई सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कास्य जित्नुभयो । सोही स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहनुभयो । 

यसैगरी पुरुष चार सय मिटर दौडमा पनि अजय कर्णले स्वर्ण जित्नुभयो । उर्गेन गुरुङ दोस्रो र अनिश खड्का तेस्रो हुनुभयो । उक्त स्पर्धाको महिलामा हीरामाया घलेले पहिलो स्थान हात पार्नुभयो । विनिता थापा दोस्रो र सविता देउला तेस्रो हुनुभयो । 

ह्विलचेयरको पुरुष एक सय मिटर दौडमा विराट भट्ट पहिलो, रिले तामाङ दोस्रो र होमनाथ राई तेस्रो हुनुभयो । यही स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोश्रो र श्वरी न्यौपाने हुनुभयो ।  ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङले रजत र गिरीराज थापाले कास्य जित्नुभयो । महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्रो र मनमाया भण्डारी तेस्रो हुनुभयो । 

आंशिक दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा दयाराम नारायण चौधरी पहिलो, हेम थापा दोस्रो र विपिन ओस्ती तेस्रो हुनुभयो । महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोस्रो र रचना पराजुली तेस्रो हुनुभयो । पूर्ण दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोस्रो र सौगात बगाले तेस्रो हुनुभयो । महिलामा सुनिता नेपालीले स्वर्ण, संगिता घलेले रजत र रोजनी थापामगरले कास्य जित्नुभयो

हरेक स्पर्धाका विजेतालाई एक हजार, दोस्रो हुनेलाई सात सय र तेस्रो हुनेलाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिएकाे थियो । एकदिने प्रतियोगितामा ७४ खेलाडीको सहभागिता रहेको थियो । राखेपले फरक क्षमता भएका व्यक्तिहरुलाई पनि खेलकुदमा सहभागी गराउन प्रतियोगिता आयोजना गरेको हो ।

पारा राष्ट्रिय खेलकुद अन्तर्गत यसअघि विभिन्न ११ खेल सम्पन्न भइसकेको छ । प्रतियोगिताका विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कार प्रदान गर्नुभयो । 


पारा एथलेटिक्समा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप