• १६ वैशाख २०८१, आइतबार

नेपालमा कुल जनसङ्ख्याको २९ प्रतिशत धूमपानको लतमा

blog

कबिन्द्र नेपाल
मणिग्राम (रुपन्देही), जेठ १७ गते ।
नेपालमा कुल जनसङ्ख्याको २९ प्रतिशत नागरिक धूमपान तथा सुर्ति सेवन गर्ने गर्दछन् । त्यस्तै पुरुषमा ४८ प्रतिशत र महिला १२ प्रतिशत छन् । यसमा चुरोट तथा सुर्तीजन्य र स्मोकलेस (गुट्का सुपारी) समेत पर्दछ । यसैगरी १५ देखि ५९ वर्ष उमेका पुरुष ५.१ प्रतिशत र ३.९ प्रतिशत महिला वार्षिक रुपमा थपिन्छन् ।

यो तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘धुमपान, सुर्तीजन्य पदार्थको सेवन हानिकारक छ भन्ने सबैलाई थाहा छ तर प्रयोग बढिरहेको छ ।’’

धुमपान तथा सुर्ती सेवनको कारणले क्यान्सर, मुटु, दम तथा श्वासप्रश्वास, मधुमेह, मृर्गौलामा समस्या तथा रक्तनली खुम्चिने हुनाले शरीरको रक्तसञ्चारमा पनि समस्या निम्त्याउने उहाँले बताउनुभयो ।

विश्व सुर्तीजन्य पदार्थ रहित दिवस (३१ मे) को अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्दशनालयले पत्रकारहरुसँग बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य प्रशासक राेशनलाल चौधरीले कार्यपत्र प्रस्तुत गर्दै सुर्तिजन्य पदार्थ प्रयोग कर्ताको आधा सङ्ख्याले ज्यान गुमाउने बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ७ मिलियन मानिसले सुर्तीजन्य पदार्थकै कारण ज्यान गुमाउने गरेका छन् भने त्यसमध्ये ६ मिलियन प्रत्यक्ष सेवनकर्ता हुन् । सुर्तीजन्य पदार्थ सेवन कर्ताको सम्पर्कमा गएका (सेकेन्ड हेन्ड स्मोक) झण्डै ९ लाखको मृत्यु हुने गरेको छ ।

त्यस्तै, नेपालमा धुमपान र सुर्ति सेवनबाट वर्षेनी २५ हजार बढीले ज्यान गुमाइरहेका छन् । त्यसमध्ये १५ हजार पुरुष र १० हजार महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा धुमपानका कारण दैनिक ६७ जनाले ज्यान गुमाइरहेका छन् । त्यस्तै प्रतिघण्टा सरदर तीन नेपालीको मृत्यु हुने गरेको छ ।

यसैगरी, सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगको उपचारमा सरकारले वार्षिक प्रत्यक्ष ५ अर्ब रुपियाँ र अप्रत्यक्ष रुपमा ५० अर्ब खर्च हुने गरेको छ । धूमपान तथा सुर्ति सेवनलाई निरुत्साहित गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर गरेको छ भने थुप्रै ऐन कानुनहरु पनि बनेका छन् । तर ति सन्धि तथा ऐन कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् ।

धूमपान तथा सुर्ती सेवनलाई निरुत्साहित गर्नको लागि गरिएका नियमनहरु लागू भएनभएको अनुगमन तथा नियन्त्रणको पाटो फितलो छ । प्रदेश स्वास्थ्य निर्देशक गिरीका अनुसार पछिल्लो समय मुलुक सङ्घीय संरचनामा गएपछि अनुगमन तथा नियन्त्रणको पाटो कमजोर भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले नियमनसँगै अनुगमन र नियन्त्रणमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।