• २१ वैशाख २०८१, शुक्रबार

बजेटप्रति निजी क्षेत्र उत्साही

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १७ गते । आइतबार संसद्मा पेस भएको आव २०७९/८० को बजेट वक्तव्यका प्रावधानलाई निजी क्षेत्रले स्वागत गरेका छ ।  नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), समुद्रपार निकासी पैठारी सङ्घलगायतले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र उत्थानमा केन्द्रित हुने अपेक्षा गरेका छन् ।  

चम्बरले कृषि क्षेत्रको रूपान्तरण, औद्योगिक उत्पादन विस्तार, ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा खपत वृद्धिको योजनालगायतका विषय स्वागतयोग्य रहेको जनाएको छ । चेम्बरले बजेटले लक्षित गरेको आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फीति दर सात प्रतिशतमा सीमित गर्न भने कठिन हुने औँल्याएको छ । 

गैरआवासीय नेपाली सङ्घ एनआरएनले आफ्ना माग सम्बोधन गरेको भन्दै गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम राखिएको भन्दै खुसी व्यक्त गरेको छ । 

बजेटले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ कायम गर्नुका साथै १० करोड रुपियाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने घोषणा गरेकामा खुसी व्यक्त गरेको छ । 

त्यस्तै धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने कुरालाई सङ्घले सकारात्मक भनेको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा व्यवस्था नवीकरणमा छुटको पनि स्वागत गरेको छ । 

नेपाल निर्माण व्यवसायी महासङ्घले बजेटका केही प्रावधान सकारात्मक भएको जनाएको छ । नेपालका निर्माण व्यवसायीले पनि विदेशमा निर्माण कार्यमा संलग्न हुन पाउने, संयुक्त उपक्रम (जेभी)को हकमा जरिवाना, थप दस्तुरमा शतप्रतिशत छुट र ब्याजमा ५० प्रतिशत मिनाहा हुने व्यवस्थालगायतका व्यवस्था सकारात्मक रहेको उल्लेख गरेको छ ।  नेपाल समुद्रपार निकासी पैठारी सङ्घले निकासीमा सरकारले अनुदान बढाएकामा स्वागत गरेको छ । सङ्घले अनुदान प्राप्त गर्ने प्रक्रिया सरल बनाउन पनि आग्रह गरेको छ ।