• १३ वैशाख २०८१, बिहिबार

ताप्लेजुङमा तीन करोड बजेट वृद्धि

blog

ताप्लेजुङ, जेठ १७ गते । ताप्लेजुङको आगामी आर्थिक वर्षको बजेट वृद्धि भएको छ । सङ्घीय सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० बजेटअनुसार ताप्लेजुङको बजेट सवा तीन करोड रुपियाँले वृद्धि भएको हो ।

चालू भन्दा आगामी आर्थिक वर्षका लागि कुल तीन करोड २७ लाख रुपियाँ बजेट वृद्धि भएको छ । जिल्लाका नौमध्ये फुङ्लिङ नगरपालिकासहित चार स्थानीय तहको बजेट वृद्धि भएको छ । बाँकी पाँच स्थानीय तहमध्ये चारवटाको बजेट केही घटेको छ भने एउटाको समान रहेको छ । 

अर्थ मन्त्रालयले बजेट वक्तव्यमार्फत घोषणा गरेको बजेटअनुसार आगामी आवका लागि फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मैवाखाला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेटमा वृद्धि भएको छ । फुङ्लिङ नगरपालिकालाई आगामी आवका लागि ५० करोड ८८ लाख रुपियाँ बजेट विनियोजन भएको छ । चालू आवमा फुङ्लिङको ४७ करोड ७४ लाख रुपियाँ मात्र बजेट विनियोजन भएको थियो ।

यस्तै पाथीभरा याङ्वरक गाउँपालिकालाई ३२ करोड ७१ लाख रुपियाँ विनियोजन भएको छ । चालू आवमा ३० करोड ५७ लाख रुपियाँ बजेट रहेको थियो । मैवाखोला गाउँपालिकामा पनि आगामी आवका लागि २८ करोड दुई लाख रुपियाँ बिनियोजन गरिएको छ । चालू आवमा त्यहाँ २७ करोड १० लाख रुपियाँ बजेट थियो । मिक्वाखोला गाउँपालिकालाई २४ करोड ५७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । चालू आवमा त्यहाँ २३ करोड ७३ लाख रुपियाँ मात्र बजेट विनियोजन भएको थियो ।

यता आठराई त्रिबेणी गाउँपालिकाको चालू आवमा ३२ करोड ८४ लाख बजेट रहेकोमा आगामी आवका लागि ३२ करोड ६१ लाख रुपियाँ मात्र बजेट विनियोजन भएको छ । त्यस्तै मेरिङ्देन गाउँपालिकामा पनि आगामी आवका लागि ३१ करोड छ लाख बजेट आउने भएको छ । चालू आवमा त्यहाँ ३१ करोड ७० लाख रुपियाँ बजेट रहेको थियो । सिदिङ्वा गाउँपालिकामा पनि चालू आवमा ३० करोड चार लाख रुपियाँ बजेट रहेकोमा आगामी आवका लागि ३० करोड रुपियाँ बजेट विनियोजन भएको छ ।

उता सिरिजङ्घा गाउँपालिकालाई चालू आवको बजेट बजारबर आगामी आवका लागि पनि ३८ करोड ३५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । जिल्लाका सबै स्थानीय तहले बजेट वृद्धि भएर आउने अपेक्षा गरेका भए पनि त्यस्तो नभएको बजेट घटेर आएका स्थानीय तहले जनाएका छन् । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।