• ७ पुस २०८१, आइतबार

हवाई दुर्घटनाको कहाली

मौसम र मानवीय त्रुटि मात्र कति जिम्मेवार ?

blog

तस्बिर : कविन अधिकारी मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा आइतबार दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार २२ जनामध्ये दस यात्रु शव नेपाली सेनाको हेलिकप्टरबाट सोमबार साँझ काठमाडौँ ल्याइएको छ । शवको पहिचान भने खुल्न नसकेको बताइएको छ ।

काठमाडौँ, जेठ १७ गते । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा ठोक्किएको तारा एयरको ट्विनअटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनामा परेको भएको प्रारम्भिक अनुमान गरिएको छ ।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा खराब मौसमका कारण दायाँ मोड्नुपर्ने जहाजले बायाँ मोड्दा भित्तामा ठोक्किएको बताउनुभयो ।दुर्घटनाका लागि मौसमलाई जिम्मेवार बनाइने शृङ्खला यहाँ सुरु भएको छ । तथापि दुर्घटनाको वास्तविकता पत्ता लगाउन पाँच सदस्यीय आयोग सोमबार गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ  । दुर्घटनाबारे जाँचबुझ गर्न गठित पाँच सदस्यीय समितिले थप सत्यतथ्य बाहिर ल्याउने अधिकारीको दाबी छ । 

मानवीय त्रुटि भन्दै उन्मुक्ति

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार आइतबारको तारा एयरको सहित ६७ वर्षको इतिहासमा १०८ वटा हवाई दुर्घटना भएका छन् । तीनमा तारा एयरको मुख्य कम्पनी यती एयरको समेतको मात्र २४ वर्षमा १३ वटा दुर्घटना छन् । यी सबै दुर्घटनामा झन्डै नौ सय जनाले ज्यान गुमाइसकेका छन् । यसरी पटक–पटक नेपाली आकाशमा हवाई दुर्घटना दोहोरिने शृङ्खलाले नेपाली हवाई क्षेत्रप्रति नै प्रश्न उठ्ने गरेको छ । के साँच्चै नेपाली आकाश असुरक्षित नै छ त ? भन्ने प्रश्न चुनौतीका रूपमा आएको छ ।

नेपालमा हवाई दुर्घटनापछिको प्रतिवेदनको आँकडा हेर्दा अधिकांश विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्षका प्रतिवेदन आउने गर्दछन् । त्यससँगै व्यवस्थापकीय कमजोरी, दबाब, प्रतिस्पर्धा, पुराना मोडलका जहाज, हवाई कम्पनीले सीमित सङ्ख्यामा मात्र पाइलट राख्ने, भौगोलिक अवस्थालगायतका कारण दुर्घटना हुँदै आएका उड्डयन क्षेत्रका विज्ञहरू बताउँछन् । तीमध्ये अर्काे प्रमुख कारण लापरबाहीलाई समेत मानिँदै आएको छ । त्यस्ता मानवीय त्रुटिलाई कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनमा जोड दिनुपर्ने आवाज त्यत्तिकै उठ्ने गरेको छ ।

फितलो कार्यान्वयन

दुर्घटना नदोहोरिउन् भन्नाका लागि जाँचबुझ समितिले प्रशस्त सुझाव दिँदै आए पनि त्यसको कार्यान्वयनमा भने जोड दिएको पाइँदैन । जाँचबुझ समितिले तयार पारेका प्रतिवदेन कार्यान्वयन नहुनुले पनि जहाज दुर्घटनाले निरन्तरता पाइरहेको विज्ञहरूको बुझाइ छ । भौगोलिक हिसाबले मौसममा अचानक आउने परिवर्तनका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढ्ने गरेको हवाई विभागका पूर्वमहानिर्देशक राजेन्द्र क्षेत्रीले बताउनुभयो ।

तर नेपाल वायु सेवा निगमका अपरेसन डाइरेक्टर आरके शेरचनले हवाई दुर्घटनाको दोष पाइलटलाई दिनु मात्रै नभई पहिले त्यसै क्षेत्रमा भएका दुर्घटनापछि सिफारिस गरिएका प्रतिवेदनलाई अक्षरशः पालना नहुनुसमेत दुर्घटनाको अर्काे कारण हुने बताउनुभयो ।

केही वर्ष पहिले आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको थियो तर हालै सम्मन्न युरोपेली युनियनको प्रतिवेदनले भने नेपालको हवाई सुरक्षाको सुधार ७१ प्रतिशत पुगेको देखाएको छ ।

टावरको सम्पर्कबिनै उडान

पोखरा–जोमसोम रुट निकै त्रासपूर्ण छ । पर्यटकीय सिजनमा पोखरा–जोमसोम रुटमा दुई हजारसम्म उडान तथा अवतरण हुने भएकाले उक्त रुटमा उडान भर्ने हवाई कम्पनीलाई भ्याइनभ्याई हुने गरेको छ । जानकारहरूका अनुसार यो रुटमा उडान भर्दा जहाज केहीबेर टावरसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छ ।

झन्डै चार मिनेट पोखरा र जोमसोम कतैका टावरसँग यी रुटमा उडिरहेका जहाजको सम्पर्क हुँदैन । जहाजको ककपिटमा बसेका पाइलटले आँखाले हेरेको भरमा जहाज उडाउनुपर्ने भएकाले यो रुटले विगतमा ठूला–ठूला दुर्घटनासमेत भोगिसकेको छ । 

Author

मीनराज भण्डारी