राजकुमार भट्टराई
खोटाङ, फागुन १६ गते। खोटाङमा भइरहेको राष्ट्रिय बाँस सम्मेलनमा संविधानसभा सदस्य दुर्गाजयन्ती राई कृषि उपज बिक्रीमा व्यस्त हुनुहुन्छ। जिल्ला सदरमुकाम दिक्तेलमा पसल स्थापना गरेर कृषि उपज बिक्री गर्दै आउनु भएकी संविधानसभा राईले बाँस सम्मेलनमा स्टल राख्नु भएको छ।
बिहीबारबाट सुरु भएको बाँस सम्मेलनमा स्टल राखेर निरन्तर कृषि उपज बिक्रीमा राई खटिनुभएको छ। सम्मेलन उद्घाटन कार्यक्रमका सञ्चालकले आसनग्रहणका लागि बोलाउँदासमेत संविधानसभा सदस्य राई स्टलमा सामान बेच्न व्यस्त हुनुहुन्थ्यो। फागुन १५ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने बाँस सम्मेलन दिक्तेलको माटिकोरे खेल मैदानमा आयोजना गरिएको छ। सम्मेलनको उद्घाटन–सत्र भने नजिकै रहेको कबर्डहलमा आयोजना गरिएको थियो। माटिकोरे खेल मैदानमा राखिएका ५१ वटा स्टलमध्ये एउटा स्टल संविधानसभा सदस्य राईको रहेको छ।
राष्ट्रिय बाँस सम्मेलन उद्घाटनमा अतिथिका रूपमा बोलाइरहँदा संविधानसभा सदस्य दुर्गाजयन्ती भने माटिकोरे खेलमैदानमा आफ्नो स्टलमा कृषि उपज बिक्री गर्न व्यस्त हुनुहन्थ्यो। च्याँख्ला, फापरको पिठो, दाल, भटमास, गुन्द्रुक, किनेमा, मह, घ्यु लगायतका कृषि उपज राईले बिक्री गर्दै आउनुभएको छ। उहाँले आफ्नो नमुना कृषिजन्य सामग्री प्रशोधन केन्द्रको व्यानरमा कृषि थोकवस्तुको स्टल राख्न भएको हो।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य राईले २०७६ माघ २६ गते नमुना कृषिजन्य सामग्री प्रशोधन केन्द्र दर्ता गर्नुभएको हो। उहाँले स्थानीय किसानले उत्पादन गरेका कृषि उपज सङ्कलन गर्दै दिक्तेलबजारमै कोठा लिएर बिक्री वितरण गर्दै आउनुभएको छ। नमुना कृषिजन्य सामग्री प्रशोधन केन्द्रमा मकैको च्याँख्ला, फापरको पिठो, कोदोको पिठो, विभिन्नथरीका दाल, भट्मास, किनीमा, गुन्द्रुक, सिन्की, घ्यु, मह, तोरीको तेल, अचार, भुटेर खाने मकै लगायतका कृषि उत्पादन सङ्कलन गर्दै बिक्री वितरणमा राख्ने गरिएको छ।
स्वरोजगार वन्नका लागि अरूलाई अर्ती उपदेश दिने त धेरै हुन्छन् तर संविधानसभा सदस्य राईले भने कुरामा मात्र होइन आफै काम गरेर देखाइरहनुभएको छ। राईले सुरुमा २६ केजी च्याँख्ला र १०÷१२ प्याकेट गुन्द्रुक र सिन्की राखेर पसल सुरु गेको सुनाउनुहुन्छ। हाल त्यही पसलमा कृषि उपज सङ्कलन एवं बिक्री वितरणका लागि दुई जनाले रोजगार नै पाएका छन्।