• १५ फागुन २०८१, बिहिबार

हट्दै विभेद : दमाईंको शव बोकेर विश्वकर्मा मलामी

blog

दमाइको शव बोकर मलामी गएका विश्वकर्मा समुदाय । तस्बिर सौजन्यः सुमित दमाईं

बैतडी, फागुन १५ गते। पञ्चेश्वरको उज्वल गाउँका विश्वकर्मा समुदाय दमाईंको शव बोकेर मलामी गएका छन्। दलितभित्र कायम रहेको जातीय विभेद हटाउन विश्वकर्मा समुदायका अगुवा दमाईंको शव बोकेर मलामी गएका हुन्। 

पञ्चेश्वर गाउँपालिका–४, उज्वल गाउँकी कमला दमाईंको मृत्यु भएपछि परिवारमा शव बोक्ने मानिस नहुँदा विश्वकर्मा समुदायका वड र लोहार जाति संयुक्त रूपमा मलामी गएको स्थानीय जयराम लोहारले बताउनुभयो। उज्वल गाउँमा विश्वकर्मा समुदायका ६८ परिवार भए पनि दमाईं जातिको दुई परिवारको मात्रै बसोवास रहेको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “पुरानो कुसंस्कार हटाउनुपर्छ भनेर संयुक्त मलामी गएका हौं। उज्वल गाउँमा केही वर्ष अघिसम्म विश्वकर्माले दमाईंको शव बोकेर मलामी जाने चलन थिएन । अहिले त्यस्तो विभेद छैन। कुसंस्कार सबै ठाउँबाट हटाउनुपर्छ भनेर लागि परेका छौँ।” 

उज्वल गाउँ तत्कालीन माओवादी युद्धका बेला आधार क्षेत्र भएकाले यहाँ दलितभित्र जातीय विभेद हटिसकेको स्थानीय सहिद परिवारका युवा धर्मराम वडले बताउनुभयो। उहाँले लोकतन्त्र स्थापनापछि दमाईं र विश्वकर्माबिच काँधमै शव बोकेर मलामी जाने संस्कार बसिसकेको बताउनुभयो। 

श्रीमतीको मृत्युपछि शव बोकेर मलामी जान विश्वकर्मा समुदायले सहयोग गरेको मृतकका श्रीमान् गजेन्द्रले बताउनुभयो। उहाँले, आफ्नो घरमा मलामी जाने जम्मा दुई जना मात्रै भएको बताउनुभयो। गजेन्द्र नेकपा (एमाले) पञ्चेश्वर गाउँपालिका कमिटी उपसचिव समेत हुनुहुन्छ।  

स्थानीय श्रीकेदार आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनु भएका गजेन्द्रले उज्वल गाउँका दलित समुदायभित्र व्यवहारमै जातीय विभेद हटिसकेको बताउनुभयो। 

उज्वल गाउँकी कमला दमाईंको बुधबार अपराह्न अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। बुवाको वार्षिकीमा सहभागी हुन पञ्चेश्वरबाट श्रीमान्सँगै दशरथचन्द नगरपालिका–२, मुडाप गाउँ गएकी कमलाको अचानक पेट दुःखेर बिरामी परेको उहाँका श्रीमान् गजेन्द्र दमाईंले बताउनुभयो। 


 फाइल तस्बिर

स्थानीय मेडिकलमा जचाउन जाँदा अस्पताल जान सुझाव दिएपछि कमलालाई एम्बुलेन्समा राखेर बुधबार डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो। श्रीमतीको बाटोमै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको उहाँले पीडा सुनाउनुभयो। मृतक कमलाका आठ वर्षीय छोरा छन्। 

मृतक दमाईंको बिहीबार पञ्चेश्वर गाउँपालिका–४, महाकाली नदी किनारको विनायक घाटमा दाहसंस्कारर गरिएको छ। दाहसंस्कारमा २८ जना मलामी सहभागी भएका थिए।  

यसअघि बैतडीको सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलरको शव दलितले नउठाउँदा राष्ट्रिय रूपमै त्यो घटनाले चर्चा पाएको थियो।  गाउँकै एक्लो दमाईं परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा दुई दिनपछि मात्र शव उठाइएको थियो ।

यो पनि पढ्नुहोस

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

दुई दिनपछि उठाइयो माना टेलरको शव

Author
गोकर्ण दयाल

उहाँ गोरखापत्रको बैतडी संवाददाता हुनहुन्छ । 

लेखक बाट थप