बैतडी, चैत २८ गते । कुनै बेला चियाका लागि प्रसिद्ध मानिने बैतडी खलङ्गाको चिया बगान अहिले खेतका आली र कान्लामा सीमित भएको छ । बैतडीमा चिया खेती हुन्छ भने कुरा अहिले सर्वसाधारणलाई मात्र होइन, कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायका पदाधिकारीलाईसमेत थाहा छैन । सदरमुकामको गढी आसपास क्षेत्रका केही घरमा अहिले पनि बैतडीकै चियाको उपभोग हुने गरेको छ । यद्यपि सरकारी उदासीनताका कारण व्यावसायिक खेती भने हुन सकेको छैन । दशरथचन्द नगरपालिका–४, खलङ्गाको गढी क्षेत्रमा राणा कालमै सरकारी स्तरबाट चिया बगान स्थापना भएको पूर्व प्रहरी अधिकृत एवं स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दले बताउनुभयो । बैतडीको चिया भारतको उत्तराखण्डसम्म जाने गरेको उहाँले बताउनुभयो । खलङ्गाको चिया पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घर कुरकुटियाँसम्म कोसेलीका रूपमा जाने गरेको उहाँले स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो, “इलाम र बैतडीमा सँगसँगै चिया खेती सुरु भएको हो । इलामको चिया विश्वभरि परिचित छ तर, बैतडीको चिया बगान मासिएर खेतका आली र कान्लामा सीमित हुन पुगेको छ । खलङ्गाका विभिन्न ठाउँको नाम नै चियाबारी, खोला बारी रहेका थिए । चिया बगानसँगै ती ठाउँका नाम पनि हराए । यो साह्रै दुःखको कुरा हो ।” खलङ्गा स्थित जिल्ला अदालत पछाडिको आफ्नो बारीमा अहिले पनि चियाका बोट रहेको प्रकाश चन्दले बताउनुभयो । उहाँले घरायसी प्रयोजन र आफन्त नातागोतालाई आफ्नै बारीको चिया उपभोगका लागि दिने गरेको बताउनुभयो । अधिकांश ठाउँमा स्याउला सोतरका रूपमा गाईबस्तुको गोठमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ १५÷२० बोटले घरका लागि वर्षभरि चिया खान पुग्छ । टिप्न छाडेका केही बोटका हाँगा बढेर फल लाग्ने गरेको छ । हाँगामा फलेका दाना बिउका रूपमा आफै उम्रिन्छन् । खेत जोत्ने बेला आफै उखेलिएर नष्ट हुन्छ ।” चैतदेखि वैशाखसम्म मुना टिपेर घरका लागि चिया पत्ती बनाउने गरेको उहाँले बताउनुभयो । थप्दै उहाँले भन्नुभयो, “ चियाको मुना टिपेर एक रात ओइलाउन दिन्छौँ । भोलीपल्ट हातले माडेर कपडामा पोको पारेर राख्छौँ । तेस्रो दिन सुकाउन राखेपछि बास्नादार चिया पत्ती तयार हुन्छ । बजारको चिया मिठो लाग्दैन । बैतडीको चिया जस्तो वासनादार पनि हुँदैन ।”आफ्नो बारीमा पनि चियाका बोट रहेको खलङ्गाका विकास चन्दले बताउनुभयो । अर्का स्थानीय सुदर्शन खड्काको बारीमा पनि चियाका बोट रहेको उहाँले बताउनुभयो । चिया खेतीका लागि राम्रो सम्भावना भए पनि यो विषयमा सरकारी स्तरबाट खोज अनुसन्धान हुनु पर्ने उहाँले बताउनुभयो । खलङ्गाका केही स्थानमा चियाका बोट रहेको आफूले पनि सुनेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । बैतडीमा कफी खेती भने राम्रो देखिएका बेला व्यावसायिक रूपमा चिया खेती फस्टाउन नसकेको उहाँले बताउनुभयो । चिया खेती गर्ने कुनै किसान पनि कार्यालयको सम्पर्कमा आएका छैनन् । यद्यपि यो विषयमा स्थलगत निरीक्षण गर्ने उहाँले बताउनुभयो । नेपालमा चियाको इतिहासतथ्याङ्क अनुसार वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त भएको चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाँई थिए । थापाले जङ्गबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राट्बाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेश इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई दिएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको मानिन्छ । बैतडीमा कहिलेदेखि चिया खेती सुरु भयो ? भन्ने यकिन तथ्याङ्क नभए पनि इलामसँगै त्यति बेलाका अड्डा गौडाका बडा हाकिमको पहलमा बैतडीमा चिया खेती सुरु गरिएको स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दको भनाइ छ । उहाँले प्रहरीमा नोकरी गर्ने बेला आफू इलाम पुग्दा त्यहाँका स्थानीयले बैतडीको चिया बगान कस्तो छ ? भनेर आफूलाई सोधेको बताउनुभयो ।
पञ्चेश्वरका धर्मराम वड (ओड)ले द्वन्द्वमा मारिएकी आफ्नी १९ वर्षीया दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरेर आफ्नै पुख्र्यौली पेशा सुरु गर्नुभएको छ ।
पञ्चेश्वरको उज्वल गाउँका विश्वकर्मा समुदाय दमाईंको शव बोकेर मलामी गएका छन्। दलितभित्र कायम रहेको जातीय विभेद हटाउन विश्वकर्मा समुदायका अगुवा दमाईंंको शव बोकेर मलामी गएका हुन्।