• ५ जेठ २०८१, शनिबार

नेपाली क्रिकेट टोली अमेरिकामा

blog

काठमाडौं, जेठ १६ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा आयोजना हुन लागेको त्रिदेशीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको छ । नेपाली टोली आइतबार अमेरिका पुगेको हो । लिग–२ अघि नेपालले अमेरिकामा दुई वटा एकदिवसीय अभ्यास खेल खेल्न लागेको छ । 

नेपालले जुन २ तारिख अमेरिकामा बस्दै आएका नेपाली पूर्व क्रिकेटहरुको टोली नेपाल अल स्टार्स र दोस्रो खेल ह्युस्टन हरिकेन्सविरुद्ध ४ तारिख खेल्ने छ । नेपालमा लामो तयारी गरेर गएको नेपालले सिरिजमा सबै खेल जित्ने लक्ष्य राखेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले अमेरिका जानुअघि नेपालको लक्ष्य सबै खेल जित्नु रहेको बताउनुभएको हो । 

नेपाल, आयोजक अमेरिका र ओमान सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ । आईसीसी लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ ।

ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

नेपाली क्रिकेट टोली 

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।