गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १४ गते । सरकारले मनसुनजन्य विपतमा परी बेपत्ता भएका व्यक्ति कम्तीमा दस दिनसम्म नभेटिएको अवस्थामा मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । फागुन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारको प्रवक्तासमेत जिम्मेवारी सम्हाल्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन १२ गतेको मन्त्रीपरिषद्को बैठकले गरेका निर्णय मङ्गलबार मन्त्रालयमा सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।
त्यसै गरी बैठकले चालु आर्थिक वर्ष (२०८१र८२) को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
बैठकले पुलहरूको मर्मतसम्भारका लागि विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलरबराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धमा वित्तीय सम्झौता र कार्यक्रमको दस्तावेजलाई अन्तिम रूप दिन वार्ताटोली गठन गर्ने र उक्त वार्ताटोलीलाई विश्व बैङ्कसँग वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको हो । त्यसै गरी नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा (कञ्चनपुर) लाई नियुक्त गर्ने निर्णय भएको छ ।
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायकरथी पदमा एक जनालाई बढुवा गर्ने निर्णय भएको छ भने एक जना महासेनानी, दुई जना सहायकरथी र एक जना उपरथीको पदावधि थप्ने बैठकले निर्णय गरेको छ ।
२०८१ फागुन २७ र २८ गते संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई, २०८१ फागुन २१ देखि २३ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई र २०८१ फागुन १८ देखि २२ गतेसम्म भारतमा आयोजना हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्री प्रदीप यादवलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
त्यसै गरी भारतको जयपुरमा २०८१ फागुन १९ देखि २१ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंहलाई थाइल्यान्डको बैङ्ककमा २०८१ फागुन १९ देखि २१ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टन्डनलाई र संयुक्त राज्य अमेरिकामा २०८२ वैशाख १४ देखि १७ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका, मोरङलाई आफ्नो प्रशासनिक भवन निर्माणका लागि सोही नगरपालिकाको वडा नम्बर १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ । आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनबिच हस्ताक्षर हुने समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ ।