घोराही समाचारदाता
घोराही, फागुन ११ गते । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा निर्माण हुन थालेको ट्रमा सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत देउखुरी क्षेत्रमा हुने दुर्घटनाका घाइतेको उपचारमा गर्न सहजताका लागि निर्माण हुन थालेको ट्रमा सेन्टरको करिब ८५ प्रतिशत काम सम्पन्न भएको हो ।
चालु आर्थिक वर्षमा ट्रमा सेन्टर निर्माणको काम सक्ने गरी काम भइरहेको सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद देवकोटाले बताउनुभयो । करिब २२ कट्ठा क्षेत्रफलमा निर्माण हुन थालेको ट्रमा सेन्टरको काम जति सक्यो चाडै सक्ने गरी काम भइरहेको भन्दै कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “ट्रमा सेन्टर निर्माणको म्याद चैतसम्म छ तर यो अवधिमा सकिने अवस्था छैन । त्यसैले केही समय थपेर चालु आवभित्रै काम सक्ने गरी लागेका छौँ ।” कामले गति लिएको र मुख्य भवनको काम सकिएकाले बाँकी काममा समस्या नहुने कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । उहाँका अनुसार मुख्य भवनको फिनिसिङसँगै अहिले क्यान्टिन, डाक्टर, नर्स र कर्मचारी क्वाटरसँगै शौचालय निर्माणको काम भइरहेको छ ।
विभिन्न कारणले सुरुमा तोकिएको समयमा ४० प्रतिशत मात्रै काम गरेको निर्माण कम्पनीले पछिल्लो समय काममा ढिलाइ नगरी काम गरेको सहरी विकास तथा भवन कार्यालय दाङका निमित्त प्रमुख देवकोटाले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको ट्रमा सेन्टर २०८० असार २३ भित्र निर्माण सक्ने गरी २०७७ फागुन २८ गते लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो ।
५० शय्याको ट्रमा सेन्टर निर्माणका क्रममा कुनै समस्या नदेखिए चालु आवभित्र निर्माणको काम सक्ने निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङले बताउनुभयो । बजेट अभाव नभएर चार/पाँच महिनामा सबै काम सक्ने गरी काम भइरहेको भन्दै निर्माण कम्पनीका प्रतिनिधि तामाङले समयमा बजेट निकासा नहुने समस्याले काममा ढिलाइ हुने गरेको बताउनुभयो । उहाँका अनुसार मुख्य भवनको फिनिसिङ, रङरोगन र झ्यालढोका जोड्ने तयारीमा रहेका छन् ।
ट्रमा सेन्टरको भवन निर्माणका लागि भ्याटबाहेक १९ करोड ४१ लाख चार हजार १४ रुपियाँमा २०७७ चैत २४ गते ठेक्का सम्झौता भएको थियो । ट्रमा सेन्टर निर्माणको काम २०७८ वैशाख १ देखि सुरु भए पनि निर्माणस्थलमा रुख हटाउन ढिलाइ हुँदा लामो समय काममा अवरोध भएको थियो ।