गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन ५ गते । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय कला र सँस्कृतिको प्रबर्धन गर्ने उद्देश्यले फागुुन ७ गते ११ औं ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।
स्थानीय उत्पादनको थप प्रचार–प्रसास गरी नगरपालिका क्षेत्रमा भएका धार्मिक, पर्यटकीय तथा साँस्कृतिक सम्पदाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।
नगरपालिकाले समृद्धि कागेश्वरी निर्माण गर्न स्थानीय कला साँस्कृतिक पर्यटन प्रबर्धन गर्न महोत्सव आयोजना गर्न लागेको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।
धार्मिक, पर्यापर्यटन र खेलकुदको दृष्टिकोणले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको समन्वयमा बिभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिएको कागेश्वरी मनोहरा नगरपालिका वडा १ का वडाध्यक्ष मकुन्द गजुरेलले जानकारी दिनुुभयो ।
उहाँका अनुसार महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूद लगायतका क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्नेगरी रचनात्मक कार्यक्रम तय गरिएको छ ।
महोत्सवको आकर्षण
महोत्सवका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक, सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवर्धनात्मकसँग सम्बन्धित कार्यक्रम हुने आयोजनकको भनाइ छ । त्यस्तै, उद्यमशीलताको विकास एवम् प्रबर्धनसँग सम्बन्धित कार्यक्रम हुुनुुका साथै महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिका सहित काठमाडौँ उपत्यकाबासीको बाक्लो उपस्थिति हुने आशा आयोजकले गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले २०७० सालदेखि नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको छ । वडाध्यक्ष गजुरेलले महोत्सवमा सहभागी हुन वडा, नगरवासी तथा उपत्यकावासीलाई सहभागिताका लागि आग्रह गर्नुभयो ।
महोत्सवमा महिला समूह, संघ संस्थाहरूको सहभागीतासहित स्थानीय खाना परिकार, संस्कार, संस्कृति तथा स्थानीय रक्सीको प्रवर्धनमा जोड दिन मेला क्षेत्रमा प्रदर्शन समेत हुने बताइएको छ ।