• ८ फागुन २०८१, बिहिबार

नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल

blog

नेपालका लागि इजरायका राजदूत स्मुलिक ए बासले धादिङको जीवनपुरमा कृषि फर्मको अवलोकन गर्दै ।

 गोरखापत्र समाचारदाता

काठमाडौं, फागुन ५ गते । नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल भएको छ । नेपालस्थित इजरायली दूताबास र नेपाल इजरायल चेम्बर अफ कमर्शले संयुक्तरुपमा  नेपाल र इजरायलका १५ वटा कम्पनीहरुसँग सहकार्यका लागि भर्चुल छलफल चलाएको भएको काठमाडौंस्थित इजरायली दूताबासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कृषि क्षेत्रमा ज्ञान र आधुनिक प्रविधिको प्रयोगलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको थियो । 

छलफलमा इजरायली कम्पनीहरुले नेपाली कम्पनीहरुलाई आपसी व्यापार प्रवर्धनको र दीर्घकालीन सहकार्यको लागि आफ्नो प्रस्तुती दिएका थिए । 

छलफलमा दुई देशबिचको कुटनीतिक सम्बन्धसँगसँगै आर्थिक सहकार्यलाई पनि अगाडि बढाउनु पर्नेमा वक्ताहरुले जोड दिईएको थियो । छलफलबाट दुई देशबिच कृषिक्षेत्रको सहकार्यको लागि आधार तयार भएको विश्वास गरिएको दूताबासले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैबिच, नेपालका लागि इजरायका राजदूत स्मुलिक ए बासले धादिङको जीवनपुरमा पुगेर कृषि उद्यमी युद्धप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको कृषि फर्मको अवलोकन गर्नुभएको छ । सो अवसरमा राजदूत बासले न्यौपानेको कृषि उद्यमको यात्रा, चुनौती र प्रयोयमा ल्याउनुभएको आधुनिक प्रविधिका बारेमा जानकारी लिनुभएको थियो । न्यौपाने इजरायलबाट कृषिसम्बन्धी अध्ययन गरेर फर्कनु भएको हो । 

स्वदेश फर्केपछि न्यौपानेले आफ्नो फर्मको विस्तार गर्नुको साथै त्यहाँ सिकेका सिप र प्रविधिको प्रयोगबाट उल्लेख्य उपलब्धि हासिल भइरहेको र समुदायका अन्यलाई  पनि उक्त प्रविधि सिकाइरहेको बताउनुभयो । उद्यमी न्यौपानेले इजरायली सरकारले नेपालमा प्रदान गर्ने पाँच लाख रुपियाँ बराबरको कृषि तारा अवार्ड पनि प्राप्त गर्नुभएको थियो । नेपालबाट हालसम्म चार हजार विद्यार्थीहरुले इजरायलमा गएर कृषिसम्बन्धी सिक्ने र कमाउने अवसर प्राप्त गरेको इजरायली दूतवासले जनाएको छ ।