बागलुङ, फागुन ५ गते । जिल्लाका १० स्थानीय तहमा कार्यसम्पादन मूल्याङ्कनमा दक्षिण बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनमा जैमिनीले ६८.३ प्रतिशत ल्याएर उत्कृष्ट भएको हो ।
आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गरेको हो । पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्दै आएको छ ।
समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान रहेको छ ।
यस्तै, पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाले विभिन्न सूचकमा ६६.८ प्रतिशत प्राप्त गरी दोस्रो र गलकोट नगरपालिकाले ६५.२ प्रतिशतसहित तेस्रो स्थानमा हासिल गरेको छ । काठेखोला र बडिगाड गाउँपालिका ५९.८, बागलुङ नगरपालिकाले ५७.९ प्रतिशत, बरेङ गाउँपालिकाले ५७.४, तमानखोला गाउँपालिकाले ५०.३, ताराखोला गाउँपालिकाले ४९.३ र निसीखोला गाउँपालिकाले ४८.१ प्रतिशत ल्याएको छ ।