• १५ असार २०८१, शनिबार

ध्वनि प्रदूषण गर्ने प्रेसर हर्न निकाल्ने अभियान

blog

ट्राफिक प्रहरीले सवारी साधनको प्रेशर हर्न निकाल्दै । तस्बिर : मीना कंडेल

मीना कँडेल
कावासोती, जेठ १५ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ध्वनि प्रदूषण गरेर प्रेशर हर्न बजाउने सवारी साधनको हर्न निकाल्न सुरु गरिएको छ । पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारी साधनले बजार क्षेत्रमा प्रेसर हर्न बजाएर ध्वनि प्रदूषण गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले त्यस्ता प्रेसर हर्न निकाल्न सुरु गरेको हो ।

ट्राफिक प्रहरीले जिल्लामा पहिलो पटक सञ्चालन गरिएको प्रेसर हर्न निकाल्ने अभियान   एक सातासम्म सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताउनुभयो । ट्राफिक प्रहरीले तीन सय सवारी साधनका सात सय थान प्रेसर हर्न निकालिसकेको छ ।


थापाले भन्नुभयो, “सवारी साधनले कम्पनीले दिएको भन्दा धेरै प्रेसर हर्न राखेर हिँड्ने र विद्यालय क्षेत्र, बजार क्षेत्र, मुख्य व्यापारिक केन्द्रमा प्रेसर हर्न बजाउने सवारीको हर्न झिकेका छौं ।” एक पटक हर्न निकालेपछि सवारी साधनले पुनः प्रेसर हर्न बजाएमा वा प्रेसर हर्न सवारीमा राखेमा जरिवाना गरिने उहाँले बताउनुभयो ।

बाटोमा हिँड्ने पैदल यात्री, साइकल यात्री, बिरामी र विद्यार्थीहरु चर्काे हर्नले डराउने आतिने र छिटो बाटो क्रस गर्न खोज्दा दुर्घटना बढी हुने गरेको भेटिएकाले सवारी दुर्घटना नियन्त्रण गर्नको लागि पनि प्रेसर हर्न निकाल्ने अभियान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रज्वल मर्हजनले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नजिक कावासोतीको मुख्य बजार क्षेत्रबाट सुरु गरिएको यो अभियान जिल्लाका अन्य क्षेत्रमा पनि निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताउनुभयो ।