• ४ जेठ २०८१, शुक्रबार

दिगो सौन्दर्यका लागि योग : रमिला

blog

काठमाडौँ, जेठ १५ गते । सुन्दरता महिलाका लागि मात्र होइन सबैका लागि हुनुपर्छ भन्ने मान्यताले नेपाली समाजमा जरा गाड्न थालेको छ । के महिला के पुरुष, सबैलाई उत्तिकै आकर्षित देखिनुपरेको छ, भीडमा छुट्टै आकर्षक देखिने चाहना बढ्दो छ । 

यसका लागि सबैजसोले अवलम्बन गर्ने उपाय भनेको सौन्दर्य प्रसाधन नै हो । कृत्रिम कस्मेटिकहरूले आकर्षक त देखाउँछन्, तर यसरी पाइएको सुन्दरता क्षणिक हुने गर्छ । त्यसैले दिगो सौन्दर्यको एक मात्र उत्तम उपाय भनेको योग नै हो । योग प्रशिक्षक तथा सौन्दर्य विशेषज्ञ रमिला मानन्धरका अनुसार कुनै पनि प्रक्रियामा पैसा खर्च गर्नु नपर्ने भएकाले योगबाट पाइने फाइदा गुणात्मक हुन्छ । दिनहुँ योग गर्दा छालाको चमक र सुन्दरता पाउन सकिन्छ । यति मात्र नभई, बुढ्यौलीलाई पनि पर धकेल्न सकिन्छ । 

उहाँ भन्नुहुन्छ, “शरीर र मनलाई शुद्ध गराउने एउटा विधि पनि हो योग । मूलतः पूर्वीय दर्शनले प्रतिपादन गरेको योगले मनमा रहेको विकार हटाउने र शरीर स्वस्थ राख्ने काम गर्छ भने योग शिक्षाले सुन्दरताको क्षेत्रमा समेत काम गर्छ ।”

आफू पनि सौन्दर्यकर्मी भएको हुनाले योगले सुन्दरतालाई कायम गर्ने अनुभव व्यक्त गर्दै मानन्धरले पत्थरी भएपछि योगमा सामेल भई त्यसको निराकरण गर्न सफल भएको  सम्झनुभयो । योगका कारण मेरो पत्थरी समस्या हट्नुको साथै बिनाकुनै मेकअप नै जवान भएको महसुस गरेको बताउनुहुन्छ ।

छालालाई सुन्दर बनाउन योगले मद्दत गर्छ । यसका लागि हामीले नियमित अभ्यास भने गर्नुपर्छ मानन्धरले थप्नुभयो, “योगका विभिन्न आसन हुन्छन् । जसले दैनिक केवल पाँचदेखि १० मिनेट मात्रै गर्दा पनि शरीरमा रक्तसञ्चारका लागि महŒवपूर्ण काम गर्छ ।” योगको अभावमा हाम्रो अनुहार र शरीरको छालामा प्रत्यक्ष प्रभाव परेको देख्न सकिन्छ । योगका कारण नै छालाको चमकमा वृद्धि आउँछ । 

अष्टाङ्गयोगमध्येको एक प्राणायामले केवल तनावलाई मात्रै कम गर्दैन, यसले शरीरमा अक्सिजनको सञ्चार बढाउने कार्यमा समेत सुधार गर्छ । प्राणायामको समयमा लिइएको गहिरो सासले रगतमा अक्सिजनको प्रवाहलाई बढाउने बताउँदै उहाँले जसले गर्दा छालाको बिग्रिएको कोषिकालाई पुनः प्राप्त गर्न मद्दत गर्ने प्रस्ट पार्नुभयो । नियमित योग गर्नाले शरीरमा रहेको बोसो घटाउनुको साथै शरीरलाई ऊर्जावान् बनाउँछ जसले गर्दा हामी अझ सुन्दर देखिन सक्छौँ । 

मानन्धर भन्नुहुन्छ, “अनुहार टल्काउन सौन्दर्य प्रसाधनको प्रयोग नगरी योगको उपयोग गरौँ । अनुहारमा बाहिरबाट पोत्ने कृत्रिम वस्तु अस्थायी हुन्छ भने योगका माध्यमले आएको सुन्दरता स्थायी ।”

उहाँका अनुसार भित्रबाट स्वस्थ मानिस, जसको पेट सफा छ, पाचन प्रणाली ठीक छ, त्यस्तो मानिसको अनुहारमा सामान्य र प्राकृतिक रूपले चमक पाइन्छ । नियमित रूपमा योग गर्नाले अनुहारको कालो पोतो, चाया, डन्डिफोरलगायत जस्ता कुरा पनि निर्मूल हुन्छन् । 

बिरामीका लागि कपालभाँती, अनुलोमबिलोम प्राणायाम गर्नाले सन्चो हुनुका साथै यसबाट अनुहारको चमकसमेत बढ्छ । योगले दुवै काम हुन्छ । प्राकृतिक रूपमा जुन चमक छ, प्रकाश, कान्ति छ त्यो हाम्रो भित्रबाट आउँछ ।

शरीरभित्र हुने हरेक नकारात्मक असरको प्रभाव अनुहार र सौन्दर्यमा प्रतिविम्बित हुने भएकाले भित्रबाट शरीरलाई स्वस्थ राख्दा सुन्दरतासमेत बढ्छ । बिहान–बेलुका आधा घण्टा कपालभाँती गरेमा यसबाट अनुहारको सुन्दरता बिगार्ने तत्त्व नाश हुन्छ । 

सुन्दरताको प्रमुख शत्रु भनेको तनाव हो तर योगले तनावलाई निर्मूल पार्नुको साथै अनुशासित पनि बनाउँछ । जसका कारण हामीमा समयमै सबै काम गर्ने बानी बस्छ । आफ्नै तालले जथाभावी योगासन गर्दा फाइदा मात्रै हुन्न । केही खास शारीरिक स्थितिमा केही विशेष योगासनहरू गर्न नहुने मानन्धरको भनाइ छ । यौगिक क्रिया पूर्ण सुरक्षित भए पनि विशेषज्ञसँग सल्लाह लिएर आफूअनुकूल योगासन सिकेर गर्दाचाहिँ फाइदा मात्रै हुन्छ ।