• ३ फागुन २०८१, शनिबार

रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा

blog

रूपन्देहीको रोहिणी खोला किनारमा निर्माण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर । तस्बिर : न्यूज एजेन्सी नेपाल

रूपन्देही, फागुन ३ गते । रूपन्देहीको रोहिणी खोला किनारमा निर्माण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ ।

हाल रूपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता विस्तार गर्ने योजनाअनुसार आयल निगमले रूपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।

डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका इन्जिनियर अङ्कित रिमालले जानकारी दिनुभयो ।

आयोजनाको डिपिआर काठमाडौं विश्व विद्यालयअन्तर्गतको काठमाडौं युनिकन्सल्टले गरिरहेको इन्जिनियर रिमालले बताउनुभयो । आठ महिना भित्रमा डिपिआर तयार गर्नेगरी काठमाडौँ युनिकन्सल्टसँग सम्झौता भएको र डिपिआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उहाँले जानकारी दिनुभयो । 

रूपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकाले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो । करिब तीन अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भए पनि डिपिआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ ।