फिदिम समाचारदाता
फिदिम, फागुन ३ गते । पाँचथरको सदरमुकाम फिदिममा प्रेम केन्द्र (लभ प्वाइन्ट) निर्माण भएको छ । घुमफिर गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा पस्कन रुचाउने युवकयुवतीलाई लक्षित गरेर लभ प्वाइन्ट निर्माण भएको हो । सदरमुकाम फिदिम बजारदेखि ७–१० मिनेटको दुरीमा फिदिम नगरपालिका र स्थानीयको लागतमा उक्त केन्द्र निर्माण गरिएको हो । उच्च स्थानमा निर्मित ‘केन्द्र’ बाट सदरमुकाम फिदिम, गढी र पल्लोटारसहितका स्थान सहजै देख्न सकिन्छ । फलामका पिल्लर र रड प्रयोग गरेर तीन तलामाथि उचालिएको केन्द्रको तेस्रो तलामा रेलिङ हालेर घाम ताप्दै गफ गर्न र बजार क्षेत्र नियाल्न मिल्ने गरी घेरबार गरिएको छ ।
टिनको छानाले छाइएसँगै यो स्थानमा पानी चुहिने र घाम हुने सम्भावना छैन । गर्मी याममा शीतल हुने र जाडोमा पनि घाम लाग्ने भएकाले यो स्थानमा लभ प्वान्ट स्थापना गरेको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले बताउनुहुन्छ । नगरपालिकाको पाँच लाख तथा स्थानीयको ७६ हजार रुपियाँ लागत सहभागिता गरी पाँच लाख ७६ हजार रुपियाँ खर्च भएको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब एक महिनाअघि निर्माण सम्पन्न भएको यो स्थान छोटो समयमा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रायः साँझ बिहान र सार्वजनिक बिदाका दिन सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रयोजनका लागि फोटो भिडियो खिच्न सदरमुकाम आसपास र छिमेकी पालिकाबाट समेत आन्तरिक पर्यटक यहॉ आइपुग्छन् । फिदिम बजारदेखि डिभिजन वन कार्यालय, पत्रकार महासङ्घ पाँचथर शाखा हुँदै ओदिन, सामदिन र माथ्लोगाउ‘ जाने पैदलयात्रीसमेत यो स्थानमा पुगेपछि भारी बिसाएर आराम गरेपछि मात्रै आआफ्ना गन्तव्य जाने गर्छन् ।