पुस्तकको सिर्जनामा ज्ञान मूल तत्व हुन्छ । ज्ञानसँगै मनोरञ्जनको स्थान पनि पुस्तकमा रहन्छ । पुस्तकको लेखन र पठन संस्कृतिमा मुख्यतः ज्ञान र मनोरञ्जन नै मूल आधार रहने गरेका छन् । भाषिक चातुर्य र अभिव्यक्तिको चामत्कारिक प्रयोग साहित्यिक ग्रन्थका थप आवश्यकता हुन् । यति हुँदाहुँदै लेखनमा लक्षित वर्गको महत्व ठुलो हुन्छ । वाद र सिद्धान्त एउटा पक्ष त हो नै, वयको दृष्टिले पनि साहित्य सिर्जना भइरहेको छ । बाल, प्रौढ र बुढ्यौली साहित्य यसका दृष्टान्त हुन् । बुढ्यौली साहित्य नेपाली भाषामा नवीन क्षेत्रका रूपमा सञ्चारित छ । यसका अभियन्ता प्राडा मुकेशकुमार चालिसे यसलाई पाका उमेरका लागि साहित्य भन्न रुचाउनुहुन्छ । प्राडा चालिसे वृद्ध, ज्येष्ठ नागरिक शब्दको ठाउँमा पाको वा पाका शब्द उपयोग गर्नुहुन्छ । यसै उमेरलाई लक्ष्य गरी लेखिएको उहाँको पछिल्लो कृति हो, ‘पाकाको रमाइलो र पिरलो’ ।
हरेक उमेरको मानिसलाई एक दिन पाको उमेरमा पुग्नु पर्छ । स्वस्थ जीवनशैलीका साथ पाको उमेरमा पुग्न पाउनु आफैँमा भाग्य हो । उमेरले साठी नकट्दै मानिसमा अनेक समस्या देखिन सुरु हुन्छ । शारीरिक, मानसिक, पारिवारिक जटिलताको पोको पनि बन्दै गएको हुन्छ पाको उमेर । शारीरिक शिथिलता, काममा मन नलाग्ने, अल्छी बढी हुने, रोगले तुलनात्मक रूपमा छिटो समाउने, अरूले गरेको काममा चित्त नबुझ्ने र अरूलाई चित्त बुझाउन पनि नसक्ने अवस्थामा पुग्नुलाई सामान्य मानिन्छ पाको उमेरमा । जीवन र जगत्लाई निरन्तर भोगेर, अनेक हन्डर खाँदै सङ्घर्षले खारिएर सबै अनुभव बटुलेको पाको उमेरमा अनेक पिरलो आउँछन् । असन्तुष्टि तथा विद्रोही भाव पनि उम्लिन्छन् । अनि रमाइलो गर्न पनि मन लाग्छ । यथार्थमा यस्ता विविध विषयको गहन अनुसन्धानमूलक स्वास्थ्य विज्ञानको दृष्टिले अत्यन्त विशिष्ट कृति हो, ‘पाकाको रमाइलो र पिरलो’ ।
‘हामी ज्ञान, सिप र अनुभवका भण्डार हौँ’, ‘पाकाको चासो आवश्यक छ’, ‘पाकाको स्वभाव नै दानी’, ‘पाकाले आफैँ सल्टाऊँ जाडोका दुःख’, ‘पाकाले रनवनमा हिँड्ने गरौँ’, ‘सौभाग्यले पाको भइन्छ, बेलैमा मिलाऔँ’, ‘पाका मानिसबारे केही कुरा गरौँ’,
‘ओझेलमा अति पाका महिलाका समस्या’, ‘पाको मान्छेमा अम्लपित्त र वाकवाकी समस्या’, ‘पाका मान्छेमा पेटका अलमलिने समस्या’, ‘परिवारले बुझ्नुपर्छ पाका मान्छेमा परिवर्तन’, ‘पाका बाआमाका अनौठा समस्या’, ‘पाका मान्छे किन पिरलो गर्छन् ?’, ‘उमेरिँदा हिँड्ने र लड्ने समस्या’, ‘पाका मान्छेमा घुर्ने समस्या’, ‘पाकामा मस्तिष्क क्षमता घट्ने समस्या’, ‘पाकाको औडाहा र सुन्निने समस्या’, ‘पाकाको एक्लोपन पनि उत्पादनशील’, ‘पाकाको चाहिँदो एकाग्रता जोगाऔँ’, ‘पाकाले काँतरपनको पिरलो हटाऔँ’, ‘पाकाले रमाइलो गर्ने पिरलो हटाउने’, ‘पाकाले रिसाउन छोडौँ, मस्कने गरौँ’, ‘पाकाले नाक त जोगाउनै पर्छ’, ‘उमेरिँदा गर्न हुने र नहुने विचार्नै पर्छ’, ‘उमेरिँदा रमाउने, एक्लिने होइन’, ‘पाकाले स्वस्थ रहने दैनिक उपाय आफैँ गरौँ’, ‘उमेरिएकाहरू धरमराउने र पछारिनेबाट जोगिने कसरी ?’,
‘उमेरिँदै जाँदा आँखामा मोतीविन्दुको समस्या’, ‘पाका उमेरिँदा गर्न हुने र नहुने कुरा’, ‘पाको मान्छेका अर्घेल्याइँ’ र ‘निद्रा, पक्षाघात/ऐँठनले पाकालाई किन छोप्छ ?’ शीर्षकमा वैज्ञानिक खोज, अनुसन्धान, अध्ययन र तथ्यपरक विषयवस्तु प्रस्तुत गरिएका छन् । बुढ्यौली उमेरसित सम्बन्धित विश्वमा भएका विभिन्न नवीनतम अध्ययनका सार र तथ्यको उपयोग आवश्यकता अनुसार हरेक पाठमा सटिक ढङ्गले गरिएको छ । यत्तिको वैज्ञानिक तथ्य र कथ्यलाई बुढ्यौली उमेरको स्वास्थ्यलाई मुख्य आधार मानेर नेपालमा लेखिएको सम्भवतः पहिलो पुस्तक हुनु पर्छ यो । पुस्तकको पहिलो पाठका रूपमा राखिएको
‘काठमाडौँ महानगरको रेडियो कार्यक्रम’ अन्तर्वार्ताको लेख्य रूप कृतिकार प्राडा चालिसेको व्यक्तित्व र कृतित्वका साथै दृष्टि र दृष्टिकोणका बारेमा जानकारी दिन पर्याप्त छ ।
सामान्यभन्दा यो विशिष्ट कृति हो अर्थात् यो कुनै काल्पनिक साहित्य होइन । मनगढन्त विश्लेषण र तर्क नदिइएको प्रस्तुत पुस्तक एक वैज्ञानिक व्यक्तित्वको व्यावहारिक पुस्तक हो । जीव वैज्ञानिक प्राडा चालिसेको बुढ्यौली शृङ्खलाको यो चौथो कृतिसम्म आइपुग्दा कृतिकारले यसलाई स्वास्थ्य, चेतना र चिन्तनको दृष्टिकोणले अमृत तुल्याउनुभएको छ । पाको उमेरका लागि विशेष त हो नै तर हरेक उमेरका लागि यो कृति कुनै औषधीभन्दा बढी महत्वपूर्ण छ । बुढ्यौलीभन्दा कम उमेरमा मानिसले पनि यसमा परेका सबै तथ्य र विश्लेषण जान्नैपर्ने प्रकृतिका छन् । कृतिकारले यसलाई ‘ज्येष्ठ
नागरिकसम्बन्धी पाठ्यसामग्री’ भन्ने विधाका रूपमा चिनाएका छन् । यसलाई २४ क्यारेटभन्दा बढी शुद्ध मान्न सकिन्छ तर कतिपय सामग्रीको व्यापक अध्ययन युवा र प्रौढहरूले पनि गर्नैपर्ने देखिन्छ । उमेरगत दृष्टिले हरेक उमेरका मानिसले यस कृतिलाई कम्तीमा एक पटक हेर्नुपर्ने देखिन्छ ।
कुनै विश्वविद्यालयको पाठ्यक्रममा आधारित नभए पनि यो कृति प्राणीशास्त्र तथा सामाजिकशास्त्रको समन्वित बुढ्यौली विज्ञानका रूपमा स्थापित भएको छ । आफ्नो जीवनका भोगाइ र अनुभवका साथै प्राडा चालिसेले पाका मानिसका जीवनशैली, आहारविहार, औषधि तथा परहेज, बानीबेहोरा, चिन्तनशैली आदिमा सकारात्मकता ल्याउने र पाको उमेरलाई सरल, स्वस्थ तथा सहजका साथै रमाइलो बनाउने ध्येय राखेर पाठ्यसामग्रीको प्रस्तुति दिनुभएको छ । ठाउँ ठाउँमा राज्यले ज्येष्ठ नागरिकका लागि गरिदिनुपर्ने कर्तव्यका बारेमा पनि धेरै बाटा कृतिमा देखाइएका छन् । समाजले पाको उमेरका प्रति अपनाउन सक्ने दृष्टिकोण र उमेर पुगेकाले आफ्नै लागि गर्न सकिने धेरै व्यवहार उल्लेख गरिएका छन् । यो आफैँमा एक पूर्ण जीवन्त र जागृत पुस्तक हो । व्यवहारपरकता, चिन्तनमा नवीनता तथा विज्ञानसम्मत जीवनशैली यस कृतिका विशिष्टता हुन् । ज्ञानगुन प्रकाशन काठमाडौँले नयराज पन्तको ११२ औँ जन्मजयन्तीको अवसर पारेर २०८१ साउनको अन्तिम हप्ता प्रकाशन गरेको यस कृतिको भाषा सम्पादन शेषराज शिवाकोटीले गर्नुभएको छ । सुरुचिपूर्ण कथ्य शैलीमा गहन विषयवस्तुलाई बोधगम्य तरिकाले प्रस्तुत गरिएको प्रस्तुत कृति तयार पार्न अत्यन्त कडा परिश्रम परेको कृतिको अध्ययनबाट सहज अनुमान हुन्छ ।
वैज्ञानिक तथा साहित्यिक व्यक्तित्व प्राडा चालिसेले जसरी नेपालका वन्यजन्तुलाई चिनाउन कम्तीमा पाँच भागमा विभिन्न पुस्तक लेख्नुभएको थियो, त्यसरी नै बुढ्यौली शृङ्खलाको यो चौथो तर सर्वोच्च सिर्जना हो । करिब सात दशकको उमेरमा प्राडा चालिसे यस कृतिमार्फत जसरी जाँगरिलो र फुर्तिलो देखिनुहुन्छ, त्यो सबैका लागि अनुकरणीय छ । सुनमा सुगन्ध मिलाउन कृतिमा भाषा सम्पादनको पक्षले अलिक नसकेको जस्तो देखिए पनि साहित्यकार विन्दा साहनीले भने झैँ यो कृति उमेरिँदा मानिसका लागि औषधी र अमृत बनेको छ । कृतिकार प्राडा चालिसेले यस कृतिमार्फत ठुलो समाजसेवा गर्नुभएको छ । उहाँबाट समाजलाई मार्गदर्शन गर्ने अझ असल कृतिहरूको अपेक्षा गर्न सकिन्छ ।