• ३ फागुन २०८१, शनिबार

माघे झरी सम्झिँदै गाउँतिर

blog

हिउँदे मौसमको छाँटछन्द हेर्न घुम्दैफिर्दै आफ्नै पहाडी गाउँ सिपामा पुगियो । मौसमे पर्यटक बनेर पाखाबेँसीखोला बगरतिर नाच्छन् दृष्टिहरू । स्मृतिसरणीमा पत्रैपत्र भएर बसेका बाल्यकालका अनगन्ती सम्झनाले तुसारो र माघे झरीसँग खेलबाड गर्ने अतीततिर लतारिरहेछन् । असिना टिप्दै जम्मा पार्दै गरेका क्षणले जिस्क्याउँछन् । बरबोटे चउरमा चिमुसी खेल्दाखेल्दै चट्याङ परेर कान थुनिएका र सातो गएको सम्झनाले झस्काउँदै छ । गाउँको भौतिक मुहारसँग साक्षात्कार गर्ने लक्ष्य लिएर पुगेको मान्छे तर अहिले मेरो गाउँ, मलाई नै नचिन्ने भएछ । आफँैले खनीखोस्री सागसब्जी उमारेका बारीका सुर्का र कँुडारका बिरुवा कता पो हराए ! कागती केरा नास्पातीका ससाना बोटबिरुवाहरू एउटै साबुत नदेखेर रनथनिन्छु । आफैँले रोपेका आँप, लिची र कटहरका रुखैपिच्छे फेदटुप्पामा अरिङ्गाल, बारुलाले थुन्से झुन्ड्याए जस्ता गोला लगाएछन् । हलक्कै सङ्ग्रालिएका रुखले माया हैन अरिङ्गाल बारुलाका बथान पठाएर लखेट्न पो थाले । उतिबेर आफ्नो जाँगर, श्रम, पसिना खर्चेर हुर्काएका रुखले यतिबेर आफैँप्रति उपेक्षाभाव देखाउँदा कुँडिन्छु भित्रभित्रै । किन अफ्रिकन नरभक्षी वृक्ष बनेर ममाथि जाइलाग्दै छन् यी बोटहरू ? सांसारिक निःसारता बोधले खरो पल्टिएर आँत सुक्छ । कतै पनि अडिने टेक्ने ठाउँ नपाए जस्तो धर्मराउँछु । गाउँघरका पुराना साथीभाइ एउटै साबुत भेटदिन । एक्लिएर कति निरीह भएछु भन्ठान्दै सुस्केरा हाल्छु । स्वर्गारोहणपछि भगवान् कृष्णले द्वारिकामा एक्लै छोडिगएका अर्जुन जस्तै आज आफ्नै जन्मथलोमा भयातुर र असहाय बन्छु ।       

उहिले हिउँदे झरीको ठिहीमा स्याखु, छत्री घुम ओडेर रमाउने मेरो गाउँ, आज मध्य माघमा पनि तुवाँलोले दसै दिशा ढाकेर सुक्खा र उराठ लाग्दो भएछ । हिउँदे हुस्सु, कुहिरो, बादलको कतै पनि नामोनिसान देखिँदैन । घाउखत नभएको उतिबेरको सुकुमार गाउँ बाजले चिथोरेका चल्ला जस्तै स्कुल, राजमार्ग र खेल मैदान बनाउने नाउँमा एक्साभेटरका घाउचोटले थिलथिलो र रगताम्मे बनेको पाउँछु । हिउँदे सागपात गहुँ, मकै र तोरी बालीमा लहलहाउँदो बैँस लर्किएको देख्थेँ गाउवासीलाई । अहिले हाडछाला मोरेर उभ्याएको काठको तर्साउने बनेछ । झारपात ढाकेर तुसारो पर्ने चौर, डिहीका मैदान, हिउँले सेताम्मे टल्किने सिन्धुकोट, नाल्दुम, शिवपुरी, नौलिङ आदि लेकका थुम्का टाकुराहरू ओभानो सिउँधोमा धुस्राफुस्रा देखिन्छन् । बर्से बाढीमा उन्मत्त उर्लिएका ठाडा खोल्सा, खहरे र छाँगासँग उफ्रिँदै खेल्दै रमाउँदै गर्ने मेरो गाउँ त यतिबेर डढ्यौलाको उर्वर भूमि बनेर शिरपुच्छर सल्किँदै रहेछ । हिउँदे मनसुनी बादलको साटो मुस्लामुस्ला बनेर चौदिशा फैलिएको धुलो र धुवाँमा रूपान्तरित भएछ । पानी पलाउने जरुवा, मूल, मुहान सुकेछन् । तिनका वरपर फस्टाउने जलुको पुदिना र घोडताप्रेका झाडी र कटुस उत्तिस बाँझका लर्किएका लक्का जवान लङ्गुराहरू डढ्यौलाको ज्वालामा सेकुवा बनेर पिल्सिँदै अन्तिम सास फेर्दै रहेछन् । घरवरपर पाखामा फस्टाएका कटुस, उँडालु, धाइरो, धुर्सल र ऐँसेलुका बुटापोथ्राहरू सुकेनासले सर्लक्कै सुकेछन् । असमयमै सन्नाटाको सुनसान आवरण ओडेर दिन दोगुना बढेको तापक्रममा मेरो गाउँ, मेरो जन्मथलो पिल्सिँदै रहेछ । 

अब कसरी वर्णन गरौँ उतिबेरको त्यो सदावहार हराभरा देखिने मेरो गाउँलाई । शब्दभण्डार नै अपुग र अधुरो लाग्छ । जब भन्न खोजेका कुरा भन्नै नसकिने गरी शब्दहरू छिरोलिन्छन्, जब भन्नैपर्ने कुरा भन्नै नपाएर मन स्खलित बन्छ तब शून्यता नाच्न थाल्दो रहेछ । रुखमा बसेर चरीले गाउने या ओडारभित्र भालुले बोल्ने आवाज जस्तै लर्बरिन्छन् शब्दशास्त्रका लबजहरू । ऋग्वेद महाभारत र ओल्ड टेस्टामेन्टका ऋचाहरू धमिराले धुल्याए जस्ता लाग्छन् । पाणिनीको सूत्रबद्ध अष्टाध्यायीलाई बिर्सिएर मौन बन्छन् आवाजका साजहरू । हुँडलिन्छन् मनका तरङ्गित भावहरू । भाषा भासमा भस्सिँदै जान्छ र मनोभावलाई बोक्ने सामथ्र्य पनि गुमाइदिन्छ । अनेक प्रयासले जोडजाड पारेको वाक्यमा सुहाउँदो पद मिल्दैन अनि पदमा अक्षर पौठेजोरी खेल्दै स्खलित हुन्छ आफ्नो स्थानबाट । बिनाभाष्यको प्रज्ञा मारुनी बनेर नाच्न थाल्छ आफ्नै तालमा । जब पदसँग अक्षरले साइनो छोड्छ तब अनर्थकताको बिस्कुन लाग्छ मथिङ्गलमा । आज यस्तै अवस्थामा पुगेको छ मेरो मन मस्तिष्क ! किन आएछु म आज यो आफ्नै जन्मे हुर्केको पुरानो गाउँमा ? नआएको भए बरु मनमा बाल्यकालको एउटा सङ्लो, सग्लो अनि सलबलाउँदो ‘इमेज’ बसिरहेको थियो । अब कसरी प्रतिस्थापित गर्नु र शब्दमा उतार्नु त्यो गाउँलाई ? जब सार्थक शब्द भेटिन्न अनि खुलदुली भरिन्छ दिमागमा । विवेकमा बिर्को लाग्छ । बुद्धि बस्ने खोपाभित्र अविवेक भरिन्छ । के भन्ने के नभन्ने या त के भन्नुपर्ने पत्तो हुन छोड्छ । अल्जाइमरले छोपेर हो कि, भन्नुपर्ने कुरा छुट्दै जान्छ नभन्नुपर्ने या नभने पनि हुने कुराले मनको ब्याडमा भाँडभैलो खेती सुरु गर्छ ।

सास फेर्नै गाह्रो परेछ कि के हो ? खोइ किन सुसाउँदैन इन्द्रावती आज ? लमतन्न तन्किने बगरको वारपार सेतै फुलेको र जुनेली रातको चहकमा झलमल्ल खुलेको काँसको सुकिलो फूलबारी कता हराएछ ? पटपटे र अर्थुङ्गेका झाडीभित्र गुँड लगाएर बचेरा हुर्काउने हुटिट्याउँ र पानीमाथि पल्ट्याङबाजी लगाउँदै दिनभर खेलिरहने पानीहाँस र मलेवाको खेल हेर्न कुन चाहिँ तलाउ या कुन महासागरतिर लागौँ ? बगरमाथि खाडीमा बेलामौका भेटिने सर्प अजिङ्गरका जोडी कता गएर गुजारा गर्दै छन् ? किन यो पुर्खौली वासस्थान छोडेर माछाका भुरा, बुदुनाहरू विस्थपित भएका ? हाँसले हिलो छ्याप्ता भागी भागी नाम्सिने सुकिला मलेवा खोइ कतकता गएछन् ? खोलाको वारिपारि बसेर रातभरि वियोगका गीत गाउने अभिशापित धोवी चराको मायालु जोडी खोइ कता हराएछ । एकतमासले सुइँय्यसुइँय्य लहरिँदै, सुसाउँदै बगेको खोला वारपार किनारमा बसेर रातभरि बालन गाइरहने त्यो हुटिट्याउँ चरा खोइ कहाँ गयो आज ? काँसका झाङबेगर कसरी कोरल्छ होला त्यसले चल्लाहरू अहिले ? किनारका ठुला ढुङ्गामुनि जरुवा खनेर पातको खोचे थाप्दै पानी पिउन अब कता जानु ? कहाँ गए हुनन कोइलीका बथान । खोइ कहाँ जाउँ म अब त्यसको विरही आवाज सुन्न ? सुँगालाई बोल्न सिकाउँदै पुटुपुटु बकाउँदै च्याखुरा र वन कुखुरका भाले लडाउँदै तमासा हेर्ने सुषुप्त आदतले फिराद गर्न थालेको छ आफैँसँग । सुकुमार पाठाहरू लिएर माथिको ठुलो वनबाट पानी खान तल झर्ने मृगको बथान कुन झाडीमा लुकामारी खेल्दै छ ? कि हरायो वनविनाश र खडेरीजनित महाविपत्तिको मार खाएर ? मलाई नै जिम्मा लगाउँदै छोडेर गयो कि त्यसले आफ्नो पिरतापका राप अनि अकिञ्चनताको सन्ताप पनि ? खोइ किन लमतन्न सुतेछन् ढाँडखोलाका डरलाग्दा छाँगा र भुमरी खेल्ने दहहरू । खोइ सिस्ने खोलाको अजङ्गको बाढी छेक्ने पहरो । कुन ठेकदारले गिट्टी बनाएर धुलो पारेछ । डोजर, टिप्पर र एक्साभेटरको कर्कस आवाजमा मुर्छित बनेछ इन्द्रावती उपत्यका । खुलदुली छ अनि हलचल छ मनमा । 

हामीले माथि चढ्ने प्रतियोगिता गरेका बरपिपलका रुख इँटाभट्टामा समिधा बनेछन् । घाउखतले क्षतविक्षत देखिने डाँडापाखाहरू घाइते जिजीविषा लिएर बाँझो वैराग्य वरण गर्न पुगेछन् । अब के हेरेर बस्नु त्यो गाउँमा ? इन्द्रावतीका दहमा नुहाएर तातो बालुवामा लडीबुडी गर्दाका दिन अब कहिल्यै न झुल्किने गरी अस्ताएकै हु्न त ? कसरी विश्वास गर्नु अनि कसलाई सोधौँ खोइ ? लडीबुडी खेल्ने तातो बालुवा ट्रक टिप्परको बुई चढेर अज्ञात यात्रातिर लागेछ । देउता थापेर खेल्ने लोहोरे ढुङ्गा पनि क्रसरको बलिवेदीमा होमिँदै सहरतिरै अपहरित भएछन् । गोडामा लुटपुटिएर बाटो हिँड्नै गारो पार्ने भानेमुङ्ग्रा, छेपाराका बथान खोइ कता हराए ? उतिबेर साथीभाइ मिलेर बाँदरका छाउरा समाउँदै खेलाउने गरेका थियौँ । यतिबेर तिनीहरू नै बालीनाली बेमाख पार्ने आतङ्ककारीको जत्थामा परिणत भएछन् । पाहा र भ्यागुताको ताँती लगाएर ताली लगाउँदै दौड प्रतियोगिता गराएको सम्झन्छु । कुन गर्तमा पसेर ब्ल्याकहोलको विचरण गर्दै होलान् तिनीहरू ? बगरका शान्त लोहोरे ढुङ्गा दैत्याकार क्रसरले चबाएर धुलोपिठो बनाएछ । भग्नावशेष पनि देख्तिन कतै ।

यी अर्घेला अप्रासङ्गिक प्रसङ्गहरूले उतिबेरको जीवन र यतिबेर देखिने जगत्को सप्रसङ्ग जानकारी कसरी गराउलान् ? लेकमा हिउँ र बिसीमा तुसारो देखिरहेका बाल्यकालका दृष्टिहरू आज टुरिस्ट बनेर फर्किंदा पुनः बिउँझिन्छन् स्मृतिको क्यान्भासमा । अतीतका सुन्दर मनोरम चित्रहरू खोज्दै इन्द्रावतीका किनारमा लहराउँछन्, पुरानो संसारलाई देख्ने भेट्ने बहाना खोज्दै अनि नयाँ संसारलाई अझ नयाँ देख्ने चाहना बोक्दै । जब जब पाइलाहरू अगि बढ्छन् अनि सम्झन्छु बाल्यकालका झरीका दिनहरू । निथ्रुक्क रुझेर सिउसिउ गर्दै हिँड्दा पनि कति सुन्दर कति सुकुमार अनि कति नरम र मायावी लाग्थे ती दिन र ती क्षण । 

तुसारोले ढाकेको बाटोमा जमेका शीतका बाक्ला पत्रहरू फुटाउँदै खाली खुट्टा हिँड्दाको कष्टकर आनन्दलाई आत्मसात् गरेर बाल्यकालका नरम चिसा अनि जमेका क्षण विलक्षण लाग्छन् । अहिले झरीलाई तुवाँलोले ठाउँ सारी गरेर माघे झरी नै एउटा अतीतको किंवदन्ती बनेछ । एकादेशको उखानसंहितामा गाउँखाने कथा बनेर क्षितिजपारिको अन्तरीक्षमा चढेछ । पुष्पबाटिकाको परागलाई आँखा पोल्ने, नाक खिहि¥याउने तुवाँलोले वैराग्यको चिराग बनाएर धुवाँको बिरुवा रोपेछ । अब बारीमा ढोड बालेर ताप्ने र घुरको धुवाँमा पिल्सिने रहरमाथि मुस्ला मुस्ला बनेर लावाहरूको जुलुस लाग्दै छ परपर फैलिएर । घामका सुकिला किरणलाई सुमसुम्याउँदै मन्द पाहार ताप्ने मेरो आँगन आज फलाम गाल्ने आरनको खलाँती बने छ । वरपरका बोटबिरुवा श्मशान घाटका समिधा बनेछन् । भस्म विभूत घसेर कुटी कुर्ने तपस्वी बाबा बन्दै आफ्नै गाउँमा आसन जमाउँ या दैनिक दर्कारका कुरामाथि घोरिँदै रासनको जोहो गर्दै सहरतिर भौँतारिँदै गरौँ । कि यहीँ साधनामा रमाउँ, कि भागौँ मेरो पुर्खौली थातथलो छोडेर ? यस्तै प्रश्नका झाडीभित्र अलमलिएर आफैँ हराउँछु । बस !