गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १ गते । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको एक मात्र लक्ष्य भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु रहेको बताउनुभएको छ ।
शुक्रबार विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई ब्रिफिङ गर्ने क्रममा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री कार्कीले हालैको ‘जेनजी’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसबाट उत्पन्न चुनौती तथा अवसरबारे जानकारी गराउनुभएको थियो ।
उहाँले भन्नुभयो, “यो गैरराजनीतिक सङक्रमणकालीन सरकारको एउटै लक्ष्य आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नु रहेको छ । त्यसपछि हामी प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने छौँ ।”
सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बस्ने नेपालीहरूलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा पनि छलफल भइरहेको बताउनुभयो । लोकतान्त्रिक व्यवस्थालाई अझ थप बलियो बनाउन रचनात्मक तरिकाले लाग्न जेनजी समूहलाई अनुरोध गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई समेत जेनजी समूहको भावनालाई बुझ्न अनुरोध गर्नुभयो ।
मुलुकमा जरो गाडेर फैलिएको भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउँदै प्रधानमन्त्री कार्कीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोष दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरिएको पनि सो अवसरमा जानकारी दिनुभयो । साथै हालै भएको विध्वंसात्मक घटनाका विषयमा छानबिन गर्न आयोग गठन गरेर काम भइरहको पनि उहाँले जानकारी गराउनुभयो ।
नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्न नीति, पञ्चशीलको सिद्धान्तलगायतमा अडिग रहेको बताउँदै प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्र सङ्घको शान्ति सुरक्षासम्बन्धी मिसनमा धेरै सुरक्षाकर्मी पठाउने मुलुकमध्ये नेपाल पनि रहेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।” सरकार निर्वाचनको तयारीसँगै आर्थिक पुनरुत्थानतर्फ पनि केन्द्रित हुनै पर्ने अवस्था रहेको सो अवसरमा प्रधानमन्त्री कार्कीले बताउनुभयो ।