• १ कात्तिक २०८२, शनिबार

मानवीय क्षति रोक्ने रणनीति अपनायौँ : सेना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक १ गते । नेपाली सेनाले गत भदौ २३–२४ गते नवयुवा जेनजी आन्दोलनका क्रममा मानवीय क्षति रोक्ने रणनीति अपनाएको स्पष्ट पारेको छ । 

नेपाली सेनाको वार्षिक गतिविधि सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजङ्ग थापाले गत जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा राष्ट्रपति भवनलगायतका महत्वपूर्ण र ऐतिहासिक संरचना जोगाउन अधिकतम प्रयास गरिएको दाबी गर्नुभयो । 

थापाले भन्नुभयो, “महत्वपूर्ण संरचना किन जोगाउन सकिएन भन्ने आम प्रश्न अत्यन्तै जायज छ । तर ठुलो मानवीय क्षतिबिना यी संरचना जोगाउन सकिने अवस्थै थिएन । सेनाले तत्कालीन अवस्था मूल्याङ्कन गरी मानवीय क्षति कम गर्ने रणनीति अपनायो ।” 

उहाँले आन्दोलनका क्रममा सिंहदरबार प्रवेश गरेको भिडलाई सुरक्षाका विभिन्न रणनीति अपनाई दुई पटक बाहिर निकालिएको जानकारी दिँदै पुनः चारैतर्फबाट अनियन्त्रित रूपमा सिंहदरबारभित्र प्रवेश गरेको बताउनुभयो । उक्त भिड नियन्त्रण लिन सेनाले ४६ वटा हवाई फायर गरेको र सेनाको दमकलमार्फत आगजनी नियन्त्रण गर्न खोज्दा प्रदर्शनकारी सडकमै सुतेर अवरोध गरेका कारण सम्भव नभएको सेनाले जनाएको छ । 

आन्दोलनको अवस्था अत्यन्तै तनावपूर्ण रहेको र एकै पटक धेरै स्थानमा आगजनी, तोडफोड र अराजकता मच्चिएको बताउँदै सेनाले सैन्य कारबाहीबाट ठुलो मानवीय क्षति रोक्न ‘लेस डेथ लिथल’ (कम घातक) रणनीति अपनाएको स्पष्ट पारेको छ । 

सेनाले पछिल्लो समय विश्वव्यापी रूपमा र विशेष गरी दक्षिण एसियाली मुलुकमा युवाले गरेको विद्रोह र त्यसले पार्ने प्रभावबारे विश्लेषण गरी सम्बन्धित निकायलाई जानकारी गराएको दाबी गरेको छ । तर परिस्थिति सबैले आकलन गरेभन्दा भयावह भएका कारण उक्त परिस्थिति सिर्जना भएको सबै पक्षले स्वीकार गर्नुपर्ने जनाउँदै सेनाले आगामी दिनमा राष्ट्रका प्रमुख संरचना सुरक्षामा अझ सतर्कता अपनाइने र भविष्यमा यस्ता घटना नदोहोरिन नदिने प्रतिबद्धता जनाएको छ ।