काठमाडौँ, कात्तिक १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा अवस्थित गम्भीर समुद्र सेतु मा.वि.को ७३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री खरेलले सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारको ‘क्लियर म्यान्डेट’ निर्धारित समयभित्रै निर्वाचन गर्ने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण रहेको छ, जेनजीले उठाएको आवाज सुशासन र भ्रष्टाचार नियन्त्रण हो, यो सरकारले त्यो आवाजलाई मुखरित गर्छ । त्यसैले हामी (सरकार) ले भनेका छौँ सुशासन प्राथमिकतामा छ ।”
विशेष परिस्थितिमा फरक भूमिकामा आफू मन्त्रीको जिम्मेवारीमा आएको भन्दै मन्त्री खरेलले सकेसम्म जनताले परिणाम अनुभूत गर्नेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“म मन्त्रीको रुपमा कति काम गर्नसकुँला या नसकुला तपाईहरुले खोतल्दै जाँदा बदनाम हुने काम चाहिँ गर्ने छैन । जस्तो गएको छु त्यस्तै फर्कन्छु सकेसम्म राम्रो गर्नेछु तर बिगार्ने र बिग्रिने छैन ।”
मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा क्षति भएका सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालतलगायतको पुनः निर्माणको कार्य अगाडि बढाउनुपर्ने अपरिहार्यता रहेको बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवार शोकमा रहेको तथा घाइते भएकाहरु अझै अस्पतालमा रहेको भन्दै पीडितको न्याय हुनेगरी जनधनको क्षतिको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल नीराकुमारी श्रेष्ठले विद्यालयले शैक्षिक पाठ्यसामग्रीको अलावा विद्यार्थीहरुलाई व्याहारिक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र पठनपाठनलाई सहज बनाउन आवश्यक भौतिक पूर्वाधार र स्रोतसाधनको सुनिश्चितताका लागि पहल गरिने बताउनुभयो । विद्यालयमा तीनवर्षे प्रारम्भिक बालशिक्षा देखि १२ कक्षासम्म अध्ययन हुन्छ । कक्षा ११ र १२ मा व्यवस्थापन र कानून विषयमा पढाइ हुन्छ भने सिटिइभिटीको सम्बन्धन प्राप्त गरी सिभिल र जियोम्याटिक्स इन्जिनियरिङका तीन वर्षे डिप्लोमाका कक्षाहरु सञ्चालनमा रहेको छ ।
विद्यालयमा हाल एक हजार ४०० विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा विद्यालयको शैक्षिक विकास र उन्नयनमा विभिन्न तवरबाट योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई विद्यालयको तर्फबाट मन्त्री खरेलले सम्मान गर्नुभयो ।