राधा लुइटेल
फिदिम, फागुन २ गते। पाँचथरको फिदिममा पर्यटन प्रवर्द्धनका लागि फोटो प्रदर्शनी भएको छ। सदरमुकाम फिदिममा भएको प्रदर्शनीमा पाँचथरका पर्यटकीय स्थलसँगै यहाँको कला संस्कृतिलाई प्रस्तुत गरिएको छ। पर्यटन, कला र संस्कृतिसँगै रैथाने उत्पादनको प्रवर्द्धन गर्न फोटो प्रदर्शनी गरिएको आयोजकको भनाइ छ।
प्रदर्शनीमा यहाँका पर्यटकीय स्थल, कला, साहित्य, संस्कृति र उत्पादनसँग सम्बन्धित ४८ वटा फोटो राखिएका छन्।
माघ ३० गतेदेखि सुरु भएको प्रदर्शनीमा दुई दिनको अवधिमा पाँच सय दर्शकले अवलोकन गरेको आयोजक हेल्प टुगेदर फाउण्डेसनका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अवलोकन गर्नेमा विद्यार्थी, शिक्षक र आम नागरिक छन्।
फोटोको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै पर्यटन प्रवर्द्धन गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका पदाधिकारी बताँउछन्।
प्रदर्शनीमा राखिएका मध्ये उत्कृष्ट तीनवटा फोटोलाई पुरस्कृत गरिने आयोजकको तयारी छ। फोटो प्रदर्शनीको उद्घाटन फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले गर्नुभएको हो।