• १३ वैशाख २०८३, आइतबार

तनहुँका उम्मेदवार भन्छन्– ‘जेनजी’ को भावनाअनुसार काम गर्छौँ

blog

छलफलमा सहभागी उम्मेदवार ।

दमौली, फागुन २ गते । नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र नं २ का उम्मेदवार शङ्कर भण्डारीले नयाँ पुस्ता (जेनजी) को भावना र मागलाई सम्बोधन गर्दै जिल्लाको समग्र विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ तनहुँको आयोजना तथा नेपाल तरुण दल व्यास नगर कार्यसमितिको व्यवस्थापनमा शनिबार दमौलीस्थित बीपी स्मृति भवनमा आयोजित ‘युवासँग उम्मेदवार’ कार्यक्रममा उहाँहरूले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा बोल्दै क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफू १४ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिएको स्मरण गर्दै युवाको भावना बुझ्ने नेताका रूपमा आफूलाई प्रस्तुत गर्नुभयो । उहाँले युवाको प्रमुख माग रहेको रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

“व्यवसायीलाई सामन्ती देख्ने र उद्योग बन्द गराउने प्रवृत्तिले गर्दा औद्योगिक क्षेत्र फस्टाउन सकेन, जसका कारण युवाले रोजगारी पाउन मुस्किल भएको छ,” भट्टराईले भन्नुभयो, “कांग्रेसले उद्योगमैत्री नीति ल्याएर व्यवसायीको मनोबल बढाउने छ । कृषिमा आधुनिकीकरण र उत्पादित वस्तुको बजार व्यवस्थापनको पूर्ण जिम्मा सरकारले लिने गरी हामीले ठोस योजना बनाएका छौँ ।” नेविसङ्घको केन्द्रीय अध्यक्ष भइसकेकाले आफू युवा पुस्ताको समस्याप्रति जानकार रहेको उहाँले बताउनुभयो । उहाँले तनहुँ जलविद्युत् आयोजना, सडक, पुल, अस्पताल र विद्युतीकरणजस्ता गौरवका आयोजना कांग्रेसकै नेतृत्वमा सम्भव भएको दाबीसमेत गर्नुभयो ।

त्यस्तै क्षेत्र नं २ का उम्मेदवार शङ्कर भण्डारीले तनहुँलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको केन्द्र बनाएर समृद्धि हासिल गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । वनमन्त्री हुँदा आफूले भानुभक्त प्राणी उद्यानमार्फत रोजगारीका अवसर सिर्जना गर्न पहल सुरु गरेको उल्लेख गर्दै उहाँले विकासका अधुरा काम पूरा गर्न आफू मैदानमा आएको प्रस्ट पार्नुभयो ।

“मनकामना केबलकारले जसरी स्थानीयलाई रोजगारी दियो, त्यसैगरी तनहुँमा पनि ठुला आयोजनामार्फत आर्थिक क्रान्ति ल्याउनु छ,” भण्डारीले भन्नुभयो, “इलाका प्रशासन, सिँचाइ र विद्युत्का कार्यालय स्थापना गरेर सेवा प्रवाहलाई जनताको घरदैलोमा पुर्‍याउने काम कांग्रेसले नै गरेको हो ।”

नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष हीरा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार इन्दिरा खनालको पनि उपस्थिति थियो ।