अमरराज नहर्की
तनहुँ, फागुन २ गते । तनहुँको सदरमुकाम दमौलीबाट व्यास नगरपालिका वडा नम्बर १४ को केशवटार जोड्ने सडकको स्तरोन्नतिसँगै स्थानीयवासीमा खुसीयाली छाएको छ ।
दमौली–केशवटार सडकखण्ड अन्तर्गत वडा नम्बर १३ को गुँदी खण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो । कुल १४ किलोमिटर दूरी रहेको यस सडकको गुँदी खण्ड पक्की भएसँगै अब कुल ९ किलोमिटर सडक कालोपत्रे भएको छ भने ५ किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी रहेको छ ।
गण्डकी प्रदेश सरकारको ५ करोड रुपियाँ लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्रे गर्ने कार्य अघि बढाइएको थियो । व्यास नगरपालिकाका अनुसार यसअघि ७ किलोमिटर सडक कालोपत्रे भइसकेकोमा हाल प्रदेश सरकारको बजेटबाट थप २ किलोमिटर सडक ढलान र नाला निर्माण सम्पन्न भएको छ ।
यो सडकलाई दमौली–केशवटार, धरमपानी र बन्दीपुर हुँदै पृथ्वी राजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यो मार्ग पर्यटकीय नगरी बन्दीपुर पुग्ने छोटो र वैकल्पिक मार्ग समेत भएकाले यसले समग्र जिल्लाकै पर्यटकीय सम्भावनालाई थप बल पुग्ने देखिन्छ ।
वडा नम्बर १४ का वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सडक स्तरोन्नतिका लागि चासो व्यक्त गर्दै ध्यानाकर्षण गराएपछि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । सुरुमा विकासका कामप्रति आशङ्का व्यक्त गरेका सर्वसाधारणहरू अहिले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएपछि उत्साहित भएका छन् ।
व्यास नगरपालिका –१३ की वडा सदस्य मधुमाया विकले सडकको अवस्था सुधारिएपछि दैनिक उपभोग्य सामानको ढुवानी र बिरामीलाई अस्पतालसम्म लैजान सहज भएको बताउनुभयो । सडक पक्की हुन थालेसँगै व्यास–१३ पोखरीभञ्ज्याङस्थित आँपश्वरा सामुदायिक होमस्टेका सञ्चालकमा पर्यटकीय चहलपहल बढ्ने आशा स्थानीयको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार यस सडकका लागि नगरपालिकाले पटक–पटक गरी हालसम्म करिब ४ करोड रुपियाँ विनियोजन गरिसकेको छ । प्रदेश सरकारबाट पुनः १ करोड रुपियाँ विनियोजन भएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको ६ करोड रुपियाँ ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढेको थियो ।