सिराज खान
नेपालगन्ज, फागुन ३ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले बाँकेमा निर्वाचन लक्षित गस्ती तीव्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन जिल्लाका विभिन्न स्थानको अवस्था बुझ्न र नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी गस्ती सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचन नजिकिँदै गर्दा सुरु गरिएको गस्तीमार्फत स्थानीय स्तरमा सूचना सङ्कलन गर्ने, जनसम्पर्क अभिवृद्धि गर्ने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।
उहाँका अनुसार गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग निर्वाचन र अन्य समसामयिक विषयमा भेटघाट तथा छलफल गर्नेछ । साथै जनमुखी प्रहरी सेवा प्रदान गरी अपराध रोकथाम एवं नियन्त्रणका लागि वस्तुस्थिति समेत बुझ्ने कार्य भइरहेको छ ।
यस्ता गस्ती र प्रहरी गतिविधिले जनतामा सुरक्षाको अनुभूति हुनुका साथै सम्भावित सुरक्षा जोखिमका बारेमा समयमै जानकारी प्राप्त हुने र समाधान गर्न सकिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
विगतका निर्वाचनका बेला सुरक्षा चुनौती देखिएका स्थान र सीमा नजिकका क्षेत्रलाई विशेष ध्यानमा राखेर सुरक्षा रणनीति तयार पारिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ ।
सोही आधारमा जिल्लामा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटालाई 'अति संवेदनशील' ठहर गरी विशेष सुरक्षा प्रबन्ध मिलाइने जिल्ला सुरक्षा समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । उहाँले अति संवेदनशील मतदानस्थलहरूको अनुगमन र निरीक्षण गर्ने कार्य समेत भइरहेको जानकारी दिनुभयो ।