गोरखापत्र अनलाइन
सुनसरी, फागुन २ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरुको घरदैलो कार्यक्रम अझ नियमित हुन थालेको छ । सुनसरी निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनुभएको छ ।
निवर्तमान सांसद समेत रहनुभएकी चौधरीको पक्षमा जनलहर बढेसँगै उहाँ यतिबेला आफ्नो निर्वाचन क्षेत्रका जनताविच सल्लाह सुझाबहरु संकलनमा ब्यस्त रहनुभएको छ । शनिबार चौधरीको सक्रियतामा दुहवी नगरपालिका वडा ९ मा ५२ जना महिलाले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई संवोधन गर्दै उम्मेदवार चौधरीले समाज रुपान्तरण र महिला सशक्तिकरणका लागि राजनीतिमा महिला सहभागीता अपरिहार्य भएको बताउनुभयो । एमालेले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको जिकीर उहाँले गर्नुभयो । एमाले विचार सिद्धान्त र जनताको पक्षमा उभिएको पार्टी हो, लैङ्गिक समानता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा उभिएको पार्टी हो, उहाँले भन्नुभयो ।
महिलाहरुलाई राज्यका सबै क्षेत्रमा अवसर दिन एमाले प्रतिबद्ध रहेको उहाँको भनाइ छ । पार्टी प्रवेश गर्दै महिलाहरुले आफूहरु एमालेले अंगिकार गरेको राष्ट्र, राष्ट्रियता, स्वाधिनता, जाति, वर्ग, समुदायको उत्थानको सिद्धान्त र विचारबाट प्रभावित भएको तथा नेतृ भगबती चौधरीले महिला सशक्तिकरणका सवालमा निर्वाह गर्नुभएको भूमिकाबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताउनुभयो ।
सामाजिक कामसँगै राजनीतिमा उदाउनु भएकी चौधरीले साढे तीन वर्ष सांसद तथा करिब ५ महिना मन्त्री भएर आफ्नो क्षेत्रका लागि गर्नुभएका कामबाट मतदाता सन्तुष्ट रहेको स्थानीयको भनाइ छ ।
चौधरीले स्थानीय विकासका एजेण्डासँगै उद्यमशीलता, युवा स्वरोजगार र आत्मनिर्भर अर्थतन्त्रजस्ता जनप्रिय एजेण्डा अघि सारेकाले यो क्षेत्रका मतदाताहरु मत परिवर्तनको विपक्षमा देखिएको नेकपा एमाले निर्वाचन क्षेत्र नं ३ परिचालन समितिका संयोजक लिलम बस्नेतले बताउनुभयो ।