• ३ फागुन २०८२, आइतबार

स्कुल भ्यान दुर्घटनाका घाइते १८ विद्यार्थी डिस्चार्ज

blog

दुर्घटना हुँदा घाइते भई उपचाररत बालिकालाई भेट्दै विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारी । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ३ गते । बिहीबार भएको स्कुल बस दुर्घटनामा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार गराइरहेका सबै घाइते विद्यार्थी डिस्चार्ज भएका छन् । 

विद्यालयबाट घर फर्किनेक्रममा बिहीबार दिउँसो साढे ४ बजे बागलुङ नगरपालिका वडा १ स्थित न्यु एभरेष्ट एकेडेमीको ग ३ च ८६२१ नम्बको स्कुल बस बागलुङ नगरपालिका वड ३ हाँडेपाखामा दुर्घटना भएको थियो । 

सो दुर्घटनामा परी धौलागिरी अस्पतालमा उपचार गराइरहेका सबै विद्यार्थी, चालक र शिक्षिका डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले बताउनुभयो ।

अब पोखराका दुई अस्पतालमा ६ जना मात्रै विद्यार्थी उपचाररत छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संगम किसान उपचाररत छन् भने बाँकी ५ जना विद्यार्थी पोखरास्थित मणीपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । मणीपाल शिक्षण अस्पतालमा अनन्या किसान, आयान बोहोरा, सोलुमान रसाईली, निकित किसान र सुमन गैरेको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घटनामा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ । कक्षा ४ का सुजल छन्त्यालको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । कक्षा ८ का अमन बोहोराको बिहीबारै धौलागिरि अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

उपचारको क्रममा शनिशार निधन भएका विद्यार्थी सुजल छन्त्यालको आइतबार बागलुङ नगरपालिका वडा १ मालढुंगामा दाहसंस्कार गरिएको छ । उपचारपछि चालक वीरबहादुर थापा मगर प्रहरी नियन्त्रणमा हुनुहुन्छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । सोही घटनामा घाइते हुनुभएकी शिक्षक सारिका बोहोरा पनि उपचारपछि घर फर्किनुभएको छ ।