• ३ फागुन २०८२, आइतबार

चुरे संरक्षण गर्न मतदाताको माग

blog

चुरे संरक्षणको माग गर्दै स्थानीयहरु । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, फगुन ३ गते । आसन्न प्रतिनिधिसभाको निर्वाचनको तीथि नजिकिँदै जाँदा चुरे संरक्षणको मागलाई पनि वन तथा वातावरण क्षेत्रका अगुवाहरुले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । 

चुरेको संरक्षण गरिएन भने तराई मधेशका भूभाग मरुभूमिकरण भइ मानव जीवन नै सङ्कटमा पर्न थाल्ने भन्दै मागलाई प्राथमिकतामा राख्न माग गरिएको छ । वन तथा वातावरणविद दिनेश यादवले तीनै तहको सरकारले चुरे संरक्षणलाई प्रागमिकतामा राख्नुपर्ने आवश्यक्ता भएपनि सङघीय निर्वाचनको समयमा यस विषयलाई प्राथमिकताको साथ उठाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘चुरे पर्वतको भू–वनावट एक पटक नोक्सान भयो भने फेरि पुरानै अवस्थामा फर्काउन सकँदैन । तसर्थ, यसको संरक्षण आवश्यक छ ।’’ तराई मधेशको १५ प्रतिशत उर्वरभूमि बाढीको कारण कटान भइरहेको अवस्थामा कृषि भूमिलाई जोगाउन सङघीय सरकार जति गम्भीर हुनुपर्दथ्यो, त्यति नदेखिएकाले यस पटकको निर्वाचनमा यो विषयको सम्बोधन हुनुपर्ने हाम्रो माग रहेको उहाँले सुनाउनुभयो । 

चुरे क्षत्रको संरक्षणको लागि देखिएको चुनौतीमध्ये मानवीय गतिविधि, चुरे क्षेत्रमा बढिरहेको मानवीय वस्ती र चरिचरणलाई रोक्न आवाज उठाउने दल र उम्मेदवारको घोषणापत्र महत्पूर्ण हुने लहान –१५ का पूर्व प्रधानाध्यापक दोस्तबहादुर भट्टइले सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘‘केही दशक यता चुरे क्षेत्रमा रहेको वन विनासले चुरे पर्वत नाङगो देखिन थालेको छ । बाढी पहिरोको समस्याले जनजीवनमा नराम्रो असर पर्न थालेको छ । अब यसको संरक्षणका लागि चुनावी घोषणापत्र आवश्यक छ ।’’

चुरे क्षेत्रमा हराभरा राख्न र समग्र चुरे क्षत्रलाई चुरे पर्यटनको लागि तीनै तहको सरकारले दायित्व लिइनुपर्नेमा अहिलेसम्म गम्भीर रुपमा नलिएकोले चुरे विनासले अब मानवीय जीवन नै सङकटमा पर्न थालेको चुरे क्षेत्रमा रहेको लहान १५  झ्वाई खोल्सीको अध्यक्ष लगनलाल चौधरीले बताउनुभयो । 

मधेश प्रदेशको समृद्धिको आधार कृषि र कृषिलाई मद्दत गर्ने चुरे संरक्षण रहेकाले पानीको स्रोत भुमि संरक्षण, कृषि र पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नको लागि चुरे संरक्षणको विषय चुनावी घोषणापत्रले प्राथमिकतामा राख्नुपर्ने कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । 

उहाँको अनुसार कृषिको प्राणवायुको रुपमा रहेको चुरे संरक्षणको लागि पहल गर्न सरोकारवाला सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । चुरेको विनासकै कारण खानेपानीको स्रोत सुक्न थालेकाले चुरे संरक्षणको विषयमा हामी स्थानीय मतदाताहरु यस पटकको निर्वाचनमा विश्वसनीय प्रतिवद्धता खोजिरहेको लहान–१३ का सियाराम यादवले बताउनुभयो ।