• १३ वैशाख २०८१, बिहिबार

गणतन्त्रको डेढ दशक

सामाजिक, सांस्कृतिक तथा राजनीतिक फड्को

blog

काठमाडौँ, जेठ  १५ गते ।जनताको आन्दोलनको जगमा स्थापना भएको गणतन्त्रपछि मुलुकले सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा फड्को मारेको विज्ञहरूले बताउनुभएको छ । उहाँहरूले गणतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा सरकार तथा राजनीतिक दलको नेतृत्वले पर्याप्त भूमिका निर्वाह गर्न नसकेको धारणा व्यक्त गर्नुभएको छ । राजतन्त्रात्मक शासन प्रणालीको विधिवत् अन्त्यसँगै २०६५ साल जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना भएको थियो ।

गणतन्त्रको घोषणापछि नेपाली जनताको आफ्नो संविधान आफैँ लेख्न पाउनु,  संविधान सभाबाट संविधान जारी भई त्यसमा व्यवस्था भएअनुरूप विभिन्न सातवटा प्रदेशसहित स्थानीय तह गठन हुनु, स्थानीय समस्या स्थानीयस्तरबाटै समाधान गर्न पाउनु, जनप्रतिनिधिलाई घरमै भेटेर सेवाग्राहीले गुनासा राख्न पाउनु तथा जनप्रतिनिधिले पनि व्यक्ति पहिचान गरेर उहाँहरूको समस्याको प्रकृति हेरेर सोहीअनुसार निदानको उपाय खोज्न पाउन गणतन्त्रको मुख्य उपलब्धि रहेको विज्ञको भनाइ छ । 

वर्षौंदेखि एकछत्र राज गरिरहेको शाह वंशीय शासन व्यवस्थाको अन्त्य भएर मुलुकमा नयाँ शासन व्यवस्था लागू हुनु त्यतिखेर मुलुकका लागि ऐतिहासिक उपलब्धि भएको राजनीतिक विश्लेषक मुमाराम खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रको स्थापनासँगै प्राप्त उपलब्धिको रक्षा गरेर ती व्यवस्थाको स्थायी व्यवस्थापनमा धेरै नै काम सम्पन्न हुन बाँकी रहेकोले त्यसतर्फ सरकार तथा राजनीतिक नेतृत्वको ध्यान जानु जरुरी छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पनि गणतन्त्रको प्राप्तिपछि नेपाली नागरिकमा हक र अधिकारबारे चेतना अभिवृद्धि भएको बताउनुभयो । उहाँका अनुसार आम रूपमा सशक्तीकरणको मुद्दा पनि गणतन्त्रपछि नै 

उठेको हो । उहाँले भन्नुभयो, “तर यी सबै पूर्तिका लागि चाहिने सुशासनको पाटोमा हामी चुकेका छौँ । मुलुकमा भ्रष्टाचार बढेको छ, आर्थिक वृद्धिलाई गति दिन सकिएको छैन ।”गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न राजनीतिक नेतृत्व बलियो हुनुपर्ने उहाँको   विचार छ । जनताको आन्दोलनको जगमा स्थापना भएको यस व्यवस्थाको सही व्यवस्थापन गर्न दलका नेताहरू चुकेकै कारण पछल्लो समय स्थानीय तहको निर्वाचनमा स्वतन्त्र व्यक्तिहरूले प्राप्त गरेको तथा उहाँहरूको सफलताले हाम्रो राजनीतिक प्रणाली र दलका नेताको गतिविधिमाथि प्रश्नचिह्न खडा गरेको डा. वाग्लेले बताउनुभयो । 

लोक कलाकार नन्दकृष्ण जोशीले पनि गणतन्त्रले दिएको सुन्दर उपलब्धिहरू पछिल्लो समय राजनीतिक दलको खराब कर्मका कारण धरमराएको बताउनुभयो । “दलबीच भएको ध्रुवीकरण, नातावाद, कृपावादलगायतका गतिविधिका कारण पछिल्लो समय स्वतन्त्र व्यक्ति स्थानीय तहको निर्वाचमा विजयी हुनु र जनतामा चुलिएको चरम असतुष्टिलाई पूरा गर्न नसक्नु भनेको गणतन्त्रको सही व्यवस्थापन गर्न नसक्नु हो,” उहाँले भन्नुभयो ।


Author

अशोक अधिकारी