• २९ माघ २०८१, मङ्गलबार

मुस्लिम बालिकाले लगाए एचपिभी खोप

blog

नेपालगन्जमा एचपिभी खोप लगाउन खोप केन्द्र पुगेका बालिका । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, माघ २९ गते । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु हुनुअघि सो अभियानमा संलग्न स्वास्थ्य कार्यालय बाँकेका अधिकांश कर्मचारीलाई यो अभियान मुस्लिम र मधेशी समुदायमा कसरी सफल पार्ने भन्ने चिन्ता थियो । 

बिभिन्न तयारीका साथ अभियान सुुरु गरिएपछि यस पटक जिल्लाका मुस्लिम  मधेशी समुदायका अधिकांश गाउँबस्तीमा ठुलो संख्यामा खोप लगाउन बालिका र किशोरी खोप केन्द्रमा पुगेपछि अहिले अधिकांश स्वास्थ्यकर्मी खुशी देखिएका छन् । 

एचपिभी खोप अभियान सुरु भएको सात दिनमा नै बाँके जिल्लामा लक्षित समूहका ८० प्रतिशत किशोरीलाई खोप लगाइसकिएको छ । तीमध्ये मुस्लिम र मधेशी समुदायको क्षेत्रमा उत्साहका साथ खोप लगाइएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले यस पटक मुस्लिम र मधेशी समुदायका बालिकाले उत्साहसाथ एचपिभी खोप लगाएको जनाउँदै खोपका बारेमा ती समुदायमा पनि सचेतना निकै बढेको पाइएको बताउनुभयो । 

उहाँले यसअघिका बिभिन्न खोप अभियानमा मुस्लिम र मधेशी समुदायमा निकै उत्साह र चासो नदेखिने गरेकोमा यस पटक उनीहरुमा पनि निकै राम्रो उत्साह देखिएको बताउनुभयो । त्यसका लागि अभियान सुरु हुनुभन्दा पहिले नै सो कार्यालयले दुबै समुदायका धार्मिक र सामाजिक अगुवासँग बिभिन्न कार्यक्रम गरेको थियो । 

सोही कारण यस पटक खोप अभियान उत्साहसाथ चलिरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लाको चारवटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा सात दिनमा १९ हजार ७८२ जना किशोरीलाई एचपिभी खोप लगाइसकिएको छ ।

उहाँले चार पालिकामा लक्षित उमेर समूहका २४ हजार ५८९ किशोरीमध्ये १९ हजार ७८२ जना अर्थात् ८० प्रतिशतलाई खोप लगाइसकिएको बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ७ हजार ५१२ जना, कोहलपुरमा ५ हजार ८९६ जना, खजुरामा ४ हजार २०४ जना र जानकीमा २ हजार १७० जना किशोरीलाई एचपिभी खोप लगाइएको छ ।

जिल्लाका करिब ३७ हजार किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यसाथ माघ २२ गतेबाट खोप अभियान सुरु गरिएको थियो । फागुन ६ गतेसम्म सञ्चालन गरिने सो अभियान अन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरीलाई सो खोप लगाउने काम चलिरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।