• २९ माघ २०८१, मङ्गलबार

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले राष्ट्रिय अधिवेशन गर्ने

blog

बैठकमा सहभागी पदाधिकारी ।

काठमाडौँ, माघ २८ गते । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले सङ्घको केन्द्रीय अधिवेशन आगामी चैत १८ गते देखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । 

सङ्घको केन्द्रीय कार्यालय बबर महलमा सोमबार बसेको बैठकमा बस्नेतले नेपाली कांग्रेस पार्टीको विधान बमोजिम देशैभरिका एकाइमा सदस्यता वितरण गर्न निर्देशन पनि गरेको छ । 

यस्तै सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा सोमबार नै बसेको पूर्ण बैठकबाट सङ्घको विधानले निर्दिष्ट गरेका तहगत निकाय मार्फत प्रतिनिधि चयन गर्न कार्य तालिका समेत तय गरेको छ। 

जसअनुसार वडा अधिवेशन फाल्गुण ८ गते देखि १३ गते, पालिका अधिवेशन फाल्गुण १४ देखि १७ गते सम्म, प्रदेश सभा ‘क’ र ‘ख’, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन फाल्गुण १८ देखि २४ सम्म, जिल्ला अधिवेशन फाल्गुण २५ देखि २९ गते सम्म, प्रदेश अधिवेशन चैत ८ गते, केन्द्रीय अधिवेशन चैत १८, १९ र २० गते सम्पन्न गर्ने तय गरेको छ। 

सङ्घका सहप्रवक्ता राजु ताम्राकारले दिएको जानकारीअनुसार प्रत्येक वडा एकाइ, प्रदेश ‘क’ र ‘ख’  हुदै क्षेत्रीय अधिवेशन मार्फत अनिवार्य १ महिला सहित ३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरिने छ। 

यसरी १६५ निर्वाचन क्षेत्रवाट सभापति पदेन केन्द्रीय प्रतिनिधि हुँदा ५२० जना , जिल्ला सभापति ७७ जना, एक निर्वाचन क्षेत्र भएका ३५ क्षेत्रबाट १०५ जना, प्रदेश अध्यक्ष ७ जना, कार्यसमितिका १०२ जना, अध्यक्षले मनोनीत गरेका र ओलम्पियन २० जना सहित कुल ८३१ जना केन्द्रीय प्रतिनिधिबिच सङ्घको अधिवेशन हुनेछ ।

बैठकले सङ्घका पदाधिकारी र सदस्यहरूलाई अधिवेशन सम्पन्न गर्न जिल्ला तथा प्रदेशमा खटाउने समेत निर्णय गरेको छ । ७७ जिल्ला अधिवेशनका लागि ५१ जना केन्द्रीय सदस्यहरूलाई जिम्मेवार प्रदान गरिएको छ।