नामिबिया, माघ २८ गते । नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन भएको देशका राष्ट्रपति नाङ्गोलो म्बुम्बाले आइतबार घोषणा गर्नुभएको छ ।
राष्ट्रपति म्बुम्बाले संस्थापक राष्ट्रपतिलाई विगत तीन हप्तादेखि स्वास्थ्य समस्याका कारण उपचार र अवलोकनका लागि राजधानी विन्डहोकमा अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।
मे १२, १९२९ मा उत्तरपश्चिमी नामिबियाको ओमुसाती क्षेत्रको एटुन्डा गाउँमा जन्मिनुभएका नुजोमाले १९९० देखि २००५ सम्म देशको पहिलो राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो ।
सामाजिक सञ्जालमा नुजोमाको परिवारप्रति समवेदना व्यक्त गर्दै म्बुम्बाले संस्थापक राष्ट्रपतिको सम्मानमा आफ्नो सरकारले राष्ट्रिय शोक र अन्त्येष्टिको व्यवस्थाको घोषणा गर्ने बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल