स्याङ्जा समाचारदाता
स्याङ्जा, माघ २८ गते । अवैध रूपमा ढुङ्गा, गिट्टीको ओसारपसार भएको वालिङ नगरपालिका–१२, घोसरदुममा प्रशासनले अनुगमन गरेको छ । सडक निर्माण तथा कालोपत्रेका नाममा निर्माण कम्पनी टुन्डी आरएस जेभीले सडक बनाउनभन्दा बढी मात्रामा ढुङ्गा, गिट्टी निकासी गरेपछि स्थानीयले प्रतिरोध गरेका थिए । प्रतिरोध गर्ने स्थानीयलाई उल्टो कारबाही गर्ने भनेर ठेकेदारले धम्की दिएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय र सडक डिभिजन कार्यालयको टोलीले अवैध ओसारपसार गरिएको ठाउँ वालिङ नगरपालिका–१२, घोसरदुम पुगेर अनुगमन गरेको हो ।
सार्वजनिक वन अतिक्रमण गरी चाहिनेभन्दा बढी मात्रामा ढुङ्गा, गिट्टी निकासी गरिएको विषयमा स्थानीयले विरोध जनाउँदै आएका छन् । ठेकेदार कम्पनीले सरोकार नभएको क्षेत्रबाट केही सीमित व्यक्तिलाई प्रभावमा पारेर ढुङ्गा, गिट्टी अर्को ठाउँमा निकासी गरेको स्थानीय विनोद थापाले आरोप लगाउनुभयो । उहाँले नौ फुटको बाटोमा ३६ फुट चाक्लो र ४० फुट उचाइ बाटो खनेर ढुङ्गा, गिट्टी निकासी गरेको र सो कामको विरोध गर्दा ठेकेदार कम्पनीका प्रतिनिधिले विरोध गर्ने गाउँलेलाई धम्काएको बताउनुभयो ।